बाग्लुङबाट आएको गाडीमा ‘राते’ फेला, पाल्पामा ४ जना पक्राउ

पाल्पा । पाल्पा जिल्लामा प्रहरीले अवैध बन्यजन्तु राते लुकाई छिपाई राखेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

आइतबार राति पाल्पाको रिब्दिकोट गाउँपालिका–३ हार्थोक बजारमा चेकिङग गर्ने क्रममा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका– ६ बस्ने २८ वर्षीय रमेश भण्डारी (चालक)सहित चार जनालाई पक्राउ गरेको पाल्पा प्रहरीका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिएका छन् ।

बाग्लुङको बुर्तिबाङबाट बुटवलतर्फ जादै गरेको ध १ ज ४६५ नम्बरको बोलेरो पिकअपलाई चेकजाँच गर्ने क्रममा अन्दाजी ७/८ किलोको अवैध बन्यजन्तु राते (मृग) मृत अवस्थामा पछाडिको सिटमा राखेको अबस्थामा फेला पारेको पाल्पा प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको सवारीसहित चार जना ब्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको छ ।

पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको ढोरपाटन– ६ बस्ने वर्ष २८ का रमेश भण्डारी (चालक), निस्दीखोला–३ बस्ने वर्ष २९ का छमबहादुर मल्ल, नवलपरासी जिल्लाको बर्दघाट– ४ बस्ने वर्ष २९ का सुरेश थापा र अर्घाखाँची जिल्ला पाणिनि– ८ बस्ने वर्ष ३२ को मोबिन वली रहेको एसपी भट्टराईले जानकारी दिए ।

Published : Monday, 2021 July 12, 2:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया