मनाङ कांग्रेसले रेकर्ड राख्ने, गुरुङ सर्वसम्मत सभापति पक्का

काठमाडौं । नेपाली कांग्रेस मनाङको पार्टी सभापतिमा शंकर गुरुङ सर्वसम्मत हुने अत्याधिक सम्भावना रहेको छ ।

कांग्रेसको १४औँ महाधिवेशनको चहल पहल बढेका बेला मनाङले पार्टी सभापतिमा सर्वसम्मत गरेर देशभरि सकारात्मक सन्देश दिने तयारी गरेको हो । हालका पार्टी सभापति एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले पार्टी सभापतिमा शंकर गुरुङ सर्वसम्मत हुने सम्भावना रहेको जानकारी दिए ।

‘शंकर गुरुङ सिनियर नेता पनि हुनुहुन्छ । पूर्वपार्टी सभापति हो’, सभापति टेकबहादुर गुरुङले भने, ‘शंकर गुरुङलाई मनाङ जिल्लाको पार्टी सभापति सर्वसम्मत बनाउन सबै नेताहरूबीच परामर्श भएको छ । सबैले सकारात्मक कुरा गर्नुभएको छ । सम्भवत उहाँनै हाम्रो सर्वसम्मत सभापति हो ।’

सभापति गुरुङले भने, ‘हामी मिलेर जाने हो । मिलेर जाँदा विश्व जित्न सकिन्छ । अबको निर्वाचनमा देशभरि कांग्रेसले जित्ने गरेर तयारी गर्नुपर्छ ।’

सभापतिमा टेकबहादुर गुरुङ दुई पटक सभापति भइसकेका छन् । उनलाई विधानले तेस्रो कार्यकालका लागि सभापति बन्न बाटो छेकेको छ । सभापति गुरुङले अब आफू १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा जाने तयारीमा रहेको बताएका छन् ।

देशभरि कांग्रेसका जिल्ला सभापति बन्न कडा प्रतिस्पर्धा चलिरहेका बेला मनाङ कांग्रेसले सभापति सर्वसम्मत बनाउने गरेर गृहकार्य गरेपछि कांग्रेसभित्र चर्चा बढेर गएको छ ।

मनाङ कांग्रेसमा जस्तै पार्टीलाई एकढिक्का बनाउन १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिमा समेत सर्वसम्मत गर्नुपर्ने माग उठेका छन् ।

मनाङ जिल्लामा कांग्रेसका १२ सयभन्दा धेरै क्रियाशील सदस्य छन् । १४औँ महाधिवेशनमा १८ जना महाधिवेशन प्रतिनिधि आउनेछन् । यस पटक ६ जना महासमिति सदस्य चयन हुनेछन् ।

मनाङ जिल्लाले विगतमा प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका नेता पाल्तेन गुरुङलाई सर्वसम्मत रुपमा निर्वाचित गरिसकेको छ ।

Published : Sunday, 2021 July 11, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया