पहिलो चरणमै देउवालाई सभापतिमा जिताउने सहमति, गालीगलौजमा नउत्रिन अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका तीन दर्जन केन्द्रीय सदस्यहरूले १४औँ महाधिवेशनमा पार्टीको सभापतिमा शेरबहादुर देउवालाई पहिलो चरणमा जिताउने गरेर तयारी गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको देउवा निकटका ३१ जना केन्द्रीय सदस्यहरूको भेलाले सभापतिमा देउवालाई जिताउने गरेर काम गर्ने सहमति गरेको हो ।

केन्द्रीय सदस्यहरूले देउवालाई पहिलो चरणमै सभापतिमा जिताउने र दोस्रो चरणमा जानुपर्ने सभापतिका अन्य उम्मेदवारहरूसँग सहकार्य गरेर सौहार्दपूर्ण वातावरणमा महाधिवेशन सम्पन्न गर्न भूमिका खेल्ने सहमति भएको छ ।

केन्द्रीय सदस्य किरण गिरीले सकेसम्म सभापतिमा सर्वसम्मत बनाउने गृहकार्य गर्नुपर्ने सहमति नभए शेरबहादुर देउवालाई जिताउने गरेर तयारी गर्ने सहमति भएको जानकारी दिए । उनले सभापतिमा देउवाको पक्षमा माहौल बनाउने निर्णय भएको बताए ।

‘सभापतिमा शेरबहादुर देउवाज्यूलाई सहयोग गरेर जिताउने धारणा केन्द्रीय सदस्यहरूबाट आएको छ’, गिरीले भने, ‘महाधिवेशनमा सभापति र पदाधिकारी तथा केन्द्रीय सदस्यका कुनै पनि आकांक्षीका विरुद्धमा अमर्यादित कुराहरू गर्नु हुँदैन भन्ने कुरामा सहमति भएको छ ।’

केन्द्रीय सदस्य बालकृष्ण खाणले १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाले आकांक्षा देखाएकाले उहाँलाई नै सहयोग गर्नुपर्ने र सकेसम्म सर्वसम्मत गराउने गरेर काम गर्नुपर्ने धारणा राखेका छन् । उनले सर्वसम्मत हुन नसकेपछि मित्रवत प्रतिस्पर्धा हुनुपर्ने बताए ।

केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेस सभापतिमा शेरबहादुर देउवाको पक्षमा माहोल बन्दै गएको भन्दै सबैलाई मिलाएर जाने वातावरण बनाउनुपर्ने उल्लेख गरे । उनले आफूले हिन्दूराष्ट्रको कुरा उठाउँदै आएको भन्दै १४औँ महाधिवेशनमा पनि हिन्दूराष्ट्रकै कुरा अगाडि बढाउने बताएका छन् ।

केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनले कांग्रेसलाई नयाँ उर्जा दिने भएकाले सौहार्दपूर्ण वातावरणमा काम गर्नुपर्ने बताए ।

ईश्वरी न्यौपानेले कांग्रेसको नेतृत्व सम्हालेर लैजाने व्यक्तित्व भएको नेता शेरबहादुर रहेको भन्दै महाधिवेशनमा देउवालाई सबैले सहयोग गर्नुपर्ने बताइन् ।

केन्द्रीय सदस्य अजय चौरसियाले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गर्न देउवाको नेतृत्व आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य डा.डिला संग्रौला पन्तले पनि सभापतिमा देउवाको बिकल्प नरहेको बताएकी छिन् ।

देउवा समूहको बैठकमा केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, शंकर भण्डारी, सुरेन्द्र पाण्डे, ईश्वरी न्यौपाने, भीष्मराज आङ्दम्बे, एनपी साउद, बाबुराम बस्नेत, सीता गुरुङ, डा.डिला संग्रौला पन्त, अजय चौरसिया, पार्वती डिसी चौधरी, महेन्द्र यादवलगायत ३१ जनाको उपस्थिति रहेको थियो ।

देउवा समूहको बैठकको संयोजन वीरबहादुर बलायरले गरेका थिए ।

उप–सभापति विमलेन्द्र निधीलाई देउवा समूहको बैठकमा बोलाइएको थिएन । देउवा समूह छाडेर आफ्नै गुट बनाउँदै हिँडेका निधीलाई नबोलाएपछि तनाब भएको छ । केही दिनभित्रै देउवा निकटका केन्द्रीय सदस्यहरूको वृहत बैठक राख्ने सहमति पनि भएको छ ।

यसअघि, रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह लगायतले गुटको बैठक र भेला गर्दै आइरहेका छन् ।

Published : Saturday, 2021 July 10, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया