गुटभन्दा माथि उठेर रामचन्द्र पौडेलले गरे प्रशंसनीय कार्य, खुसी हुँदै निस्किए

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको कृयाशील सदस्यता छानबिन समितिको कामको उच्च प्रसंशा गरेका छन् ।

शनिबार नेता पौडेलले काठमाडौंको तिलगंगास्थित छानबिन समितिको कार्यालय गौशाला धर्मशालामा पुगेर समितिले गरेका काम कारवाहीबारे जानकारी लिएको केन्द्रीय सदस्य एवम् समितिका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

नेता चौधरीले भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेल जत्तिको नेता आएर हामीले काम गरेको ठाउँमा हौसला बढाउनुभएको छ । हामीलाई उर्जा मिलेको छ । समितिले अहोरात्र खटिएर काम गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको छ ।’

समितिका संयोजक एवम् केन्द्रीय सदस्य रमेश लेखकले छानबिन समितिले गरिरहेको कामको बारेमा पौडेललाई जानकारी गराएका थिए ।

समितिको काम पार्टी कार्यालयमा बसेर गर्न असम्भव हुने भएकाले धर्मशालामा बसेर गरेकोमा पौडेलले खुशी व्यक्तका छन् ।

समयमा नै क्रियाशील सदस्यता सम्बन्धी छानबिनको कार्य सम्पन्न हुनेमा नेता पौडेलले विश्वास व्यक्त गरेका छन् ।

क्रियाशील सदस्यताबारे असार ३० गतेसम्म छानबिन पूरा गरि सक्ने प्रतिबद्धता समितिका संयोजक लेखकले जनाएका छन् ।

सहमतिमा नै सम्पूर्ण विवाद टुंगोमा पु¥याउने समितिका संयोजक लेखकले बताएका छन् ।

समितिले ५७ जिल्लाको नामावली छापीसकेको छ । ६४ जिल्लाको नामावली टुङ्गो लागिसकेको छ ।

गुटभन्दा माथि उठेर नेता पौडेलले समितिको कामको मूल्यांकन गरेर खुसी हुँदै बाहिरिएका छन् । समितिका सदस्यहरू पनि खुसी छन् ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले समितिलाई क्रियाशील सदस्यताको विवाद समाधान गर्न र छिटो काम गरेर महाधिवेशनको माहोल बनाउन निर्देशन दिएका थिए ।

देउवाले १४औँ महाधिवेशनलाई भदौभित्रै गर्ने तयारीका साथ कामहरू अगाडि बढाउँदै आएका छन् ।

Published : Saturday, 2021 July 10, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया