पौडेल–सिटौला समूहको गोप्य भेलामा निधी–गुरुङ छिर्न पाएनन्

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिएका बेला रामचन्द्र पौडेल–कृष्णप्रसाद सिटौला समूहको भेला भएको छ ।

काठमाडौंको बुत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबार भएको भेलामा सभापतिमा कसलाई उठाउने भन्ने विषयमा सहमति जुटाउन नसकेको हो ।

पौडेल–सिटौला समूहबाट सभापतिमा कुनै पनि नेता ब्याक हुन नचाहनेपछि सहमति हुन सकेन । यद्यपि, नेताहरूले आफूहरूको समूहबाट एकजनालाई मात्रै सभापतिमा उम्मेदवार बनाउनेबारेमा सैद्धान्तिक सहमति बनेको दाबी गरेको नेता अर्जन नरसिंह केसीले जानकारी दिएका छन् ।

पौडेल–सिटौला समूहको भेलाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न आफूहरूको समूहबाट एउटा मात्रै उम्मेदवारी दिने सहमति गरेको नेताहरूले बताएका छन् । पौडेल–सिटौला समूहले सभापति बन्ने नेताको नामको सूची लामो छ ।

देउवाले सभापतिमा दोहोरिन चाहेपछि पौडेल–सिटौला समूहले देउवालाई रोक्न प्रयासहरू गरिरहेको छ । देउवालाई सभापतिमा रोक्न शेखर कोइराला र विमलेन्द्र निधी पनि लागेका छन् । निधीले देउवा समूह छाडेर आफ्नै छुट्टै गुट गठन गरिसकेका छन् ।

भेलामा कुनै पनि नेताहरूले सभापति बन्ने नेताको नाम घोषणा गर्न सकेनन् । नेता शेखर कोइरालाले पत्रकारहरूसँग भनेका छन्, ‘सभापतिमा एउटा उम्मेदवार दिने सहमति भएको छ । तर, कसलाई उम्मेदवार बनाउने सहमति भएको छैन । कुनै पनि नेताले म पछाडि हट्छु भनेर भन्नुभएको छैन ।’

नेता प्रकाशमान सिंहले साझा उम्मेदवार दिने विषयमा छलफल केन्द्रित रहेको बताए । उनले एउटालाई अरूले छोडने विषयमा पनि छलफल भएको बताएका छन् ।

भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला, रामशरण महत, प्रकाशमान सिंह, शशांक कोइराला, बलबहादुर केसी, सुजाता कोइराला, अर्जुन नरसिंह केसी सहभागी थिए । पौडेल–सिटौला समूहको भेलाको आयोजना अर्जुन नरसिंह केसीले आयोजना गरेका थिए ।

पौडेल–सिटौला समूहको भेलामा विमलेन्द्र निधी र कल्याण गुरुङलाई बोलाइएको थिएन । निधी र गुरुङ पनि सभापतिका आकांक्षी हुन् ।

Published : Friday, 2021 July 9, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया