कांग्रेसको प्रतिष्ठानमा बबण्डर मच्चाउँदा पनि निधीको जमानत जफ्त हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन अब केही हप्ताहरू बाँकी छन् । कुनै समस्या आएन भने भदौको दोस्रो साता कांग्रेसको महाधिवेशन हुनेछ ।

महाधिवेशन नजिकिएका बेला कांग्रेसका उप–सभापति विमलेन्द्र निधीले आफूलाई बलियो बनाउन विभिन्न हर्कतहरू गरिरहेका छन् । निधीले पुरानो मिति राखेर केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नाममा मनोनय गर्दै आएका छन् ।

सभापति शेरबहादुर देउवाको गुटभित्र बसेर सबैभन्दा धेरै अवसर पाएका निधीले अहिले देउवालाई लात हानेर आफ्नै गुट निर्माण गरेका छन् ।

निधीले देउवाकै कार्यकर्ताहरूलाई विभिन्न खालका लोभहरू दिएर प्रतिष्ठानका नाममा मनोनयहरू गरिरहेका छन् । निधीको यो चर्तिकलाको कांग्रेस नेताहरूले आलोचना गरिरहेका छन् । निधीको हर्कतबारे सभापति शेरबहादुर देउवासम्म उजुरी पुगेको छ । देउवाले चुपचाप लागेर निधीको हर्कत हेरिरहेका छन् । यो विषयमा कुनै दिन देउवाले मुख खोल्ने हुन् ? धेरैले प्रतिक्षा गरेका छन् ।

निधीकै कारण कांग्रेसले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय भोग्नु परेको थियो । निधी गृह मन्त्री बनेका बेला नवराज सिलवाललाई नेपाल प्रहरीको महानिरीक्षक बनाउन खोजेका थिए । देउवाले सिलवाललाई आईजीपी बनाउन नदिएर रोकेका थिए थिए । गृह मन्त्री भएका बेला आईजीपी बनाउन सिलवालसँग पाँच करोड रुपियाँ खाएको भनेर निधीलाई आरोप पनि लागेको थियो ।

सिलवाललाई आईजीपी बनाउन नसकेपछि निधीले गृह मन्त्री पदबाट राजीनामा दिएका थिए । देउवाले निधीलाई सम्झाएर त्यस बेला गृह मन्त्रीमा पठाएका थिए । त्यसपछि निधीले नै कांग्रेसको बद्नाम गराउन शुरु गरे । त्यसको प्रत्यक्ष असर प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई भयो । कांग्रेसले निर्वाचनमा ठूलो हार ब्यहोर्नु परेको थियो ।

अहिले निधी सभापति पदमा उम्मेदवारी दिने गरेर अगाडि बढेका छन् । निधीलाई सभापति पदमा उम्मेदवार बन्ने अधिकार पनि छ । तर, कांग्रेसलाई खाल्डामो हालेका निधीलाई कांग्रेसका नेता कार्यकर्ताले राम्रोसँग चिन्नुपर्छ । निधी कांग्रेसभित्र कुहिएको आँप सावित बनिसकेका छन् । उनले कांग्रेसलाई फाइदाभन्दा पनि बेफाइदा नै गर्नेछन् । निधीलाई आफ्नै प्रदेश नं. २ मा समेत साथ छैन ।

निधीले १४औँ महाधिवेशनमा आफ्नो पक्षमा माहोल बनाउन प्रतिष्ठानका नाममा गरिरहेको अबैध गतिविधि उनका लागि झन् घातक बन्ने भएको छ । प्रतिष्ठानमा विज्ञका नाममा गरिएका मनोनयनलाई धेरैले रुचाएका छैनन् । प्रतिष्ठानका नाममा निधीले समानान्तर पार्टी सञ्चालन गरेको आरोप छ । निधीलाई आफ्नो गुट बलियो बनाउन प्रतिष्ठानको नाम बिक्री गर्न दिन नहुने धारणा पनि बाहिर आएको छ । प्रतिष्ठानका नाममा निधीले जति नै बबण्डर मच्चाए पनि प्रतिनिधि सभा निर्वाचन र १४औँ महाधिवेशनमा जमानत बचाउन नसक्ने भनेर चर्चा हुने गरेको छ ।

निधीले कांग्रेस नेता शेखर कोइरालासँग सभापतिमा सहयोग मागेका छन् । कोइरालाले निधीलाई सहयोग गर्न नसकिने जनाइसकेका छन् । देउवा समूह छाडेपछि निधी एक्लिन पुगेका छन् । देउवाले गर्ने छलफलहरूमा निधीलाई प्रवेश निषेध छ । नेता रामचन्द्र पौडेल समूहले पनि निधीलाई विश्वास गर्दैन । कोइराला परिवारले झन् निधीलाई कुनै पनि हालतमा साथ दिनेवाला छैन । यस्तो अवस्थामा निधीको पराजयभन्दा अर्को कुनै बिकल्प छैन ।

Published : Friday, 2021 July 9, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया