ओली–नेपालको वार्तामा कांग्रेसका कुरा, प्रस्ताव सुनेपछि ओली झस्किए, के थियो त्यस्तो प्रस्ताव ?

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपालसँग होटेलमा भेटवार्ता गरेका छन् ।

बुधबार काठमाडौंको नागपोखरीस्थित होटेल मेरियटमा ओली र नेपालबीच करीव दुई घण्टा वार्ता भएको थियो । वार्तामा एमालेभित्रको विवाद समाधान गर्ने विषयमा कुराकानी भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

ओली–नेपालबीचको कुराकानी भए पनि निष्कर्षविहीन भएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णय पछि नेपाल समूह संसद विघटनको निर्णय खारेजीको मागसहित नेपाली कांग्रेससँग मिलेर आन्दोलनरत छ । नेपाल समूह संसद विघटनको विपक्षमा रहेपछि ओलीलाई सबैभन्दा धेरै टाउको दुखाइ भएको छ । ओलीले नेपाल समूहलाई फकाउन विभिन्न प्रयासहरू गरिरहेका छन् । सहमति हुन सकिरहेको छैन ।

स्रोतका अनुसार ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न नेपाल समूहको दवाव छ । तर, ओलीले दुबै पद छाड्ने पक्षमा छैनन् । नेता नेपालको प्रस्ताव सुनेपछि ओली झस्किएको स्रोतले जनाएको छ ।

ओलीले नेपाललाई कांग्रेससँग मिलेर हस्ताक्षर गरेको भन्दै आक्रोश पोखेका थिए । ओलीले हस्ताक्षर फिर्ता लिएर पार्टीमा सहभागी हुन आग्रह गरेको एक नेताले बताए । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हिँडेको भन्दै ओलीले नेपालको आलोचना समेत गरेको बुझिएको छ ।

पार्टीमा कार्यविभाजनका विषयमा कुराकानी भएको थियो । नेताहरूको कार्यविभाजनका बारेमा नेपालले राखेको प्रस्तावलाई ओलीले अस्वीकार गरिदिएको स्रोतले जनाएको छ ।

ओली र नेपालबीच दिउँसो टेलिफोनमा वार्ता भएपछि मेरियट होटेलमा वार्ता भएको हो ।

ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको थियो । केही समय ओली–नेपालसँगै बसेका दोस्रो तहका नेताहरू नजिकैको कोठामा बसेका थिए । नेताहरू भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, ईश्वर पोखरेलको सहभागिता रहेको थियो ।

Published : Wednesday, 2021 July 7, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया