भारतको अबैध बिंडीले नेपाललाई करोडौँको नोक्सानी, संकटमा नेपाली उद्योग

काठमाडौं । भारतबाट अबैध रुपमा नेपाल भित्रिएको बिंडीले नेपालमा उत्पादन भइरहेका बिंडीलाई ठूलो असर परेको छ ।

बारा जिल्लामा बिंडीको उत्पादन हुन्छ । नेपालमा उत्पादन हुने बिंडीको कच्चा पदार्थ भारतबाटै आयात हुन्छ । नेपाली उद्योगीहरूले भन्सारमा कर तिरेर कच्चा पदार्थ आयात गरेका हुन्छन् ।

तर, भारतबाट निर्वाध रुपमा कर छलेर भित्रिएको बिंडीले नेपालमा उत्पादन भइरहेको बिंडीलाई विस्थापित गर्ने अवस्थामा पुगेको छ । बिंडी व्यवसायीहरूले वार्षिक रुपमा सरकारलाई ३० देखि ३५ करोड रुपियाँसम्म राजश्व तिर्छन् । भारतबाट अबैध रुपमा भित्रिएको बिंडीले गर्दा सरकारलाई राजश्व पनि घट्न थालेको छ ।

विशेष गरेर कैलाली, कञ्चनपुर, दार्चुला जिल्लाहरूबाट भारतीय अबैध बिंडीहरू नेपाल भित्रिरहेको छ । नेपालमा भारतबाट अबैध रुपमा भित्रिनेमा बिंडीका साथै रजनी गन्धा, गुटखा, पान मसला, सुर्ती जन्य पदार्थहरू अत्याधिक रहेका छन् । यी बस्तुहरू बाहिरबाट हेर्दा सानो परिमाणमा देखिए पनि अबैध रुपमा भित्रिदा राज्यलाई राजश्वमा ठूलो नोक्सानी हुँदै आएको छ ।

टनकपुर, गौरीफन्टा, दार्चुलाको लाली बजारबाट सबैभन्दा धेरै भारतीय अबैध बिंडी भित्रिदा पनि प्रहरी, भन्सार र राजश्व कार्यालयले ध्यान नदिएको आरोप छ ।

भन्सार विभागका महानिर्देशक यमलाल भुसालले भारतबाट अबैध रुपमा भित्रिने बिंडी होस् वा अन्य सामग्री त्यस्तो विषयलाई आफूहरूले बढावा नदिएको बताए । ‘भन्सार गरेर मात्रै सामान भित्र्याउनुपर्छ । यो विषयमा हामी सर्तक छौँ । बिंडी अबैध रुपमा भित्रिएको छ भने सुरक्षा निकाय, राजश्व कार्यालय सबैसँग समन्वय गरेर रोकथाम गर्छौं’, भुसालले भने, ‘केही व्यक्ति वा समूहले अबैध कार्य गरेका छन् भने उनीहरूलाई कारबाही हुन्छ ।’

राजश्व कार्यालय कोहलपुर बाँकेका सूचना अधिकृत मनीषकुमार महतोले भारतबाट अबैध रुपमा बिंडीहरू भित्रिएको भन्ने सूचनाहरू आएको बताए । ‘हामीलाई पनि बिंडीहरू भारतबाट अबैध रुपमा भित्रिएको सूचना आएको छ । त्यसलाई रोकथाम गर्न तस्करीमा संलग्नहरूलाई कारबाही हुन्छ’, उनले भने, ‘राजश्व छली गरेर आएका बिंडीसहितका सामानहरू व्यापारीले पनि राख्नु हुँदैन । भोलिका दिनमा हामीले छापामारेर त्यस्ता सामान बरामद भयो भने कारबाही गर्नेछौँ ।’

सूचना अधिकृत महतोले सर्वसाधारण, व्यापारी, उद्योगी सबैको सहयोगमा आफूहरूले काम गर्ने बताए । उनले अबैध रुपमा बिंडी, रजनी गन्धा र अन्य सामग्रीहरू राजश्व छली गरेर भित्रिएको सूचना दिएमा सूचना दिने व्यक्तिको गोपनीयता राखेर त्यस्ता व्यक्ति वा संस्थालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सिमानाको सुरक्षा र भन्सार नगरेर भित्रिने सामग्रीहरू निगरानी गर्न सशस्त्र प्रहरीले जिम्मेवारी पाएको छ । सशस्त्र प्रहरीको लापरबाहीले नै अबैध रुपमा बिंडी, रजनी गन्धासहितका सुर्ती जन्य वस्तुहरू भारतबाट अबैध रुपमा नेपालतर्फ भित्रिएको आरोप व्यापारीहरूको छ ।

भन्सार कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राजश्व विभागका कर्मचारीहरूको मिलोमतोमा बिंडी तस्करहरूले बिंडी तस्करी गर्दै आएको आरोप नेपालका उद्योगीहरूको छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा भारतीय अबैध बिंडीले कब्जा जमाएको छ । भारतबाट ‘स्वागत’, ‘मोरछाप’, ‘गोविन्द’, ‘घोँडा’, ‘बम्बे’, ‘कमल’ बिंडीहरू अबैध रुपमा नेपाल छिर्ने गरेका छन् ।

बारा जिल्लामा ११ वटा बिंडी उद्योग छन् । रौतहट जिल्लामा पनि बिंडी उद्योग छन् । रौतहट जिल्लाका बिंडी काठमाडौं र पूर्वी जिल्लाहरूमा जान्छन् । बारा जिल्लाका उद्योगमा उत्पादन हुने बिंडी सुदूरपश्चिम प्रदेशमा जाने गर्छ ।

Published : Monday, 2021 July 5, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया