आन्तरिक हवाइ उडान खुला, कहाँ–कहाँ उड्न पाइन्छ ?

काठमाडौं । बिहीबारदेखि आन्तरिक हवाइ उडान हुने भएको छ । स्वास्थ्य मापदण्डहरू अपनाएर यात्रुलाई यात्रा गराइनेछ ।

आन्तरिक उडान वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका लागि चार वटा वायुसेवाको तालिका स्वीकृत गरेको छ ।

प्राधिकरणले असार १७ गतेदेखि साउन १६ गतेसम्मका लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको जनाएको छ ।

काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ ।

पहिलो चरणमा काठमाडौंबाट धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् ।

काठमाडौंबाट दैनिक विराटनगरका लागि १०, भैरहवाका लागि ९, नेपालगञ्ज र भद्रपुरका लागि ७–७, जनकपुर र सिमराका लागि ६–६, पोखराका लागि ५ र धनगढी ४ उडान हुनेछन् ।

काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुनेछन् ।

दुर्गम भेगका उडान गर्ने सीता, तारा र समिट एयरले अनुमति माग गरिसकेका छन् ।

Published : Wednesday, 2021 June 30, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया