कांग्रेसले पार्टीभित्रको ठूलो ‘संकट’ यसरी मिलाउने, एकहप्ताभित्रै काम फत्ते हुने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणको विवादका विषयमा विवाद समाधान समितिका संयोजक र सदस्यहरूसँग परामर्श गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार भएको छलफलमा कांग्रेसका पदाधिकारी तथा समितिका संयोजक र सदस्यहरूको उपस्थिति रहेको थियो ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले विवाद भएका जिल्ला र निर्वाचन क्षेत्रमा पनि क्रियाशील सदस्यता वितरण तथा इन्ट्रीको प्रक्रिया शुरु भएको जानकारी दिएका छन् ।

उनले क्रियाशील सदस्यता वितरणको सम्बन्धमा विवाद देखिएका बारा, बर्दिया, सिन्धुपाल्चोक लगायत जिल्लामा इन्ट्रीको काम शुरु भइसकेको बताए ।

लेखकले क्रियाशील सदस्यतासम्बन्धी सबै विवाद टुंग्याएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशनहरू निर्धारित मितिमै सम्पन्न गरिने पनि बताएका छन् ।

लेखकले कुनै पनि जिल्ला र निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको काम नरोकिने बताएका छन् ।

समितिका संयोजक लेखकले हालसम्म देशभरिबाट झण्डै ८ लाख २० हजार क्रियाशील सदस्यताको इन्ट्री भएको बताएका छन् । केही जिल्ला र क्षेत्रहरूबाट अहिले पनि इन्ट्री भइरहेको समितिका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

क्रियाशील सदस्यताका सन्दर्भमा परेका उजुरीमाथि केन्द्रित भएर छलफल थालिएको छ ।

अहिले इन्ट्री भइराखेको ठाउँ बाहेक अरु ठाउँबाट उजुरी लिने काम बन्द भइसकेको चौधरीले बताए ।

क्रियाशील सदस्यता वितरणको विषयमा परेका उजुरीमाथि समान धारण बनाउने प्रयास भइरहेको छ । नेता चौधरीले अबको एकहप्ताभित्र क्रियाशील सदस्यता वितरणको विवाद मिल्न सक्ने बताए ।

Published : Monday, 2021 June 28, 12:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया