ओलीकै नेताद्वारा ओली–पौडेललाई नाङ्गेझार बनाए, भण्डाफोर गरेपछि एमाले र बालुवाटारमा खैलाबैला

काठमाडौं । एमालेका नेता एवम् पूर्वमन्त्री किरण गुरुङले कालीगण्डकी सभ्यता मासेर भारतको स्वार्थअनुसार केन्द्र सरकारले काम गर्न लागेको भन्दै चिन्ता जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एमालेका नेता गुरुङले विस्तृत अध्ययन र अनुसन्धानबिना अर्थमन्त्री विष्णु पौडेलले कालीगण्डकी डाइभर्सनको काम अगाडि बढाउन थालेको भन्दै आपत्ति जनाएका हुन् । उनले कालीगण्डकीको सभ्यतालाई मासेर डाइभर्सन बनाउने कार्यलाई स्वीकार नगर्ने बताएका छन् ।

‘भारतीय शासकको स्वार्थ अनुरूप संघीय शासन प्रणालीको भावना, मूल्य र मान्यता विपरीत गण्डकी प्रदेश र यस जलाधार क्षेत्र–राम्दीदेखि देवघाटसम्मका लाखौं लाख बासिन्दा तथा विश्व कै प्रचीन मानव सभ्यताको भावना विपरीत दीर्घकालीन महत्वको यस आयोजनाको काम शुरु गर्न स्थापना गरिएको कार्यालयको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलद्वारा आज मिति २०७८–०३–१२ का दिन भएको खबरले गण्डकी प्रदेशवासी मात्र होइन, लुम्बिनी र बागमती प्रदेश अन्तर्गतका कालीगण्डकी र नारायणी नदीका जलाधार क्षेत्रका सबै बासिन्दालाई नराम्ररी झस्काएको छ’, एमालेका नेता गुरुङले भनेका छन् ।

‘प्राकृतिक रुपमा बगिरहेको नदी डाइभर्सन गर्दा त्यसले तल्लो तटीय जलाधार क्षेत्रका मानव समुदाय र जैविक विविधताका क्षेत्रमा ठूलो वातावरणीय चुनौती पैदा गर्नेछ’, उनले भनेका छन् ।

‘त्यसैले यो परियोजनालाई अघि बढाउन सम्बन्धित जलाधार क्षेत्रका सबै बासिन्दा, जनप्रतिनिधि र सरोकारवाला तथा यससंग सम्बन्धित सबै संघ–संस्थाका साथै गण्डकी प्रदेशसंग छलफल, समन्वय र सहमति नै नगरी एकतर्फी रूपमा नेपाल सरकारले जुन निर्णय गरेको छ, यो निर्णय सर्वथा गलत र संघीयता विरोधी छ’, पूर्वमन्त्री गुरुङले भने ।

‘यसले दुई प्रदेशबीचको मात्र होइन, सिङ्गो कालीगण्डकी र नारायणी नदीको जलाधार क्षेत्रका लाखौं लाख जनता र यसको सभ्यता विरूद्ध ठूलो द्वन्द्व निम्त्याउने काम गरेको छ ।’

उनले भने, ‘यसका साथै, यो आयोजना पर्यावरणीय र जैविक विविधताका हिसाबले पनि प्रकृति कै नियम विपरीत रहेको छ, यो परियोजना कार्यान्वयन भनेको एउटा ठूलो प्राकृतिक विपद्को सामना गर्नु सरह हो ।’

‘यति मात्र होइन, यो आयोजना हालसम्म नेपाल पक्ष भई भए–गरेका राष्ट्रिय–अन्तर्राष्ट्रिय सन्धि–सम्झौता समेतको विरूद्ध रहेको छ’, उनले भनेका छन् ।

अर्थमन्त्री पौडेलले शनिबार बुटवलमा कालीगण्डकी डाइभर्सन गर्ने भन्दै कार्यालयको उद्घाटन गरेपछि गण्डकी प्रदेश सरकारले विरोध जनाइसकेको छ ।

एमालेकै नेता गुरुङले पनि कालीगण्डकी डाइभर्सनको विरोध गरेका छन् । नेता गुरुङले आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र अर्थमन्त्री पौडेलको योजनालाई भारतीय डिजाइनअनुसार भन्दै भण्डाफोर गरिदिएपछि एमालेभित्र खैलाबैला भएको छ ।

Published : Sunday, 2021 June 27, 10:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया