देउवा बाहिर प्यार–प्यार बोल्दैनन्, कांग्रेसको शान यसरी बढाउँछन्, कम्युनिस्टले गरे खुलासा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदको लोभ गरेको भनेर आफ्नै पार्टी र बाहिर रहेका विरोधीहरूले आलोचना गरेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले नयाँ तरंग ल्याइदिएको छ ।

काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा माओवादीका दाहालले देउवाले कहिल्यै पनि प्रधानमन्त्री बन्छु भनेर नभनेको बताए । बरु देउवालाई प्रधानमन्त्री बनिदिनुस् भनेर आफू र माधव नेपालले आग्रह गरेको दाहालले बताएका छन् ।

उनले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले गरेका सहमति कार्यान्वयन नगर्दा देश गम्भीर अवस्थामा पुगेको बताएका छन् ।
दाहालले पार्टी एकता भएको अवस्थामा ओलीले सम्झौता कार्यान्वयन नगरेको बताए ।

‘केपी ओलीसँग लचक भएर सम्झौतामा अडिग नहुनु मेरो कमजोरी हो’, उनले भने, ‘मेरो मन अलि उदार र कमलो छ, भर्खरै एकता भाको पार्टीमा किन झगडा निम्त्याउनु भनेर मैले छाडिदिएको हुँ ।’ ओलीले आफूलाई धोका दिएको उनले गुनासो गरेका छन् ।

‘केपी ओलीले धोका दिए । पालैपालो अध्यक्ष र पालैपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो’, दाहालले भने, ‘हस्ताक्षर पनि ओलीजीले नै गरेका हुन् तर, मान्दैनन् ।

दाहालले ओलीले संसद पुनर्थापना र पार्टी विभाजनको दुई महिनापछि आफूलाई फोन गरेको जानकारी दिएका छन् ।

‘संसद पुनर्स्थापना र पार्टी विभाजनको दुई महिनापछि बल्ल मलाई ओलीले फोन गरेका हुन्’, दाहालले भनेका छन् ।

ओलीले अदालतलाई समेत धम्क्याउन थालेको दाहालले बताएका छन् । ‘संसद पुनर्स्थापना हुनुपर्छ शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनैपर्छ’, माओवादीका अध्यक्ष दाहालले भने, ‘१४९ जना सांसदहरूको बहुमतसहित दाबी पेश भएकाले देउवा नै प्रधानमन्त्री हुनुपर्छ ।’

‘शेरबहादुरजीले मलाई प्रधानमन्त्री चाहियो भन्नुभएको होइन’, दाहालले भने, ‘मैले र माधवजीले उभिदिनुस् भनेका हौ ।’

दाहालले संविधानको धारा ७६को उपधारा ५ मा सांसदलाई ह्विप नलाग्ने गरेर विशेष अधिकार संविधान बनाउँदा नै राखेको स्मरण गर्दै संसद विघटन हुन नदिनका लागि उक्त व्यवस्था राखिएको दाबी गरेका छन् ।

‘अदालतले संविधानअनुसार नै निर्णय गर्छ । केपी ओलीले अदालतलाई धम्क्याउन थालेका छन्’, उनले भने, ‘कहिले महान्यायाधिवक्तामार्फत् कहिले आफै ।’

उनले भनेका छन्, ‘सर्वोच्चले संविधान, ऐन कानून र लोकतन्त्रका मूल्य मान्यताअनुसार नै फैसला गर्छ केही दिनपछि शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

‘मैले संविधान, नियम र कानुन अनुसार सर्वोच्च अदालतले फैसला गर्छभन्दा प्रचण्डको सेटिङ भनेछन्, मेरो सेटिङमा नेपाल चल्ने भएत ?’ दाहालले प्रश्न गर्दै भने, ‘हेर्नुहोला केपीपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । यो सेटिङ गरेर भनेको होइन । देउवाले प्रधानमन्त्री चाहियो भनेर कहिल्यै भन्नुभएन । हामीले उभ्याएका हौँ । साथ दिन्छौँ भनेर ।’

राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्री ओलीको रबर स्ट्याम्प बनेको दाहालले बताएका छन् । त्यसको विरोध गर्दा ओलीले धम्क्याएको उनले आरोप लगाएका छन् ।

‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो । त्यसको विरोध गर्न किन नपाउने ?’, दाहालले प्रश्न गर्दै भने, ‘राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ?’

उनले आफूले राजा राम्रो भनेको नभई व्यंग्यात्मक शैलीमा आफ्नो भनाइ राखेको स्पष्ट पारेका छन् ।

‘राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भनिदैछ’, दाहालले भने, ‘मैले राजाभन्दा बढी हुन खोज्नु भएन भन्न पो खोजेको हो नि । राजा ल्याउनुप¥यो भनेर भनेको हो त होइन नि ।’

‘कालीबहादुरलाई जेल हालीहालौं भन्ने केपी ओली पार्टी विभाजन भएपछि कालीबहादुर खोइ भन्दै हिँडेका छन्’, दाहालले भनेका छन् । यो गोहीको आँशु चुहाउनुको कुनैं अर्थ नहुने उनले बताएका छन् । अध्यक्ष दाहालले भने, ‘माधवजी एमालेको खाटी नेता देखिनुभएको छ ।’

‘उहाँको उचाइँ बढेको छ’, माधव नेपालको प्रशंसाद गर्दै दाहालले भने, ‘बरू ओलीको हाइट घटेको छ ।’

कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले शनिबार काठमाडौंमा पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध मोर्चा खोलेका छन् ।

Published : Saturday, 2021 June 26, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया