ओली र एमाले दुलाभित्र पेसका बेला कांग्रेस दलितका पक्षमा बोल्यो

काठमाडौं । नेपाली कांग्रेसले दलित समुदायमाथि भएका अन्या, अत्याचार, हिंसाका विरुद्ध बोलेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरेर दलितमाथि भएका अत्याचारविरुद्ध चिन्ता जनाएका हुन् । उनले सरकार दलितमाथि भएको अन्या र अत्याचारविरुद्ध बोल्ने बेला मन्त्री नै आगोमा घ्यु थप्ने जस्ता कार्य गरेको भन्दै आक्रोश पोखेका छन् ।

‘समय र संसार बदलिएको छ, तर हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित गतिमा बदलिएको छैन’, शर्माले विज्ञप्तिमा भनेका छन्, ‘दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौं तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन ।’

‘नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौं, तर संविधान अनुरुप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त भएको छैन’, उनले भने, ‘यस्तो परिस्थितिमा देश बन्ने÷बनाउने परिभाषाभित्र सामाजिक रुपान्तरणको प्रश्नलाई गहन आत्मसात गर्दै नवीन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको छ ।’

‘हालैको एक घटनामा तपाईंको मन्त्रिमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ’, उनले भनेका छन् ।

‘घटनाको अनुसन्धान, कार्वाही र समाधानको एउटा निश्चित विधि हुन्छ’, उनले भने, ‘राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोचित छ प्रधानमन्त्रीज्यू ?’

कांग्रेस प्रवक्ता शर्माले भने, ‘निश्चित घटना उजागर भएपछि त्यसको पक्ष–विपक्षमा नागरिक तहबाट धारणा व्यक्त हुंदै गर्दा बहसलाई तार्किक निष्कर्ष र न्यायको पक्षमा मोड्न, न्यायोचित समाधानको विधिमा समाजलाई आश्वस्त तुल्याउन, समाजमा आरोप–प्रत्यारोप एवं द्वन्द्व बढ्न नदिन जिम्मेवार राज्यले बिशेष सतर्कता र गम्भीरता राख्नुपर्दछ । त्यो जिम्मेवार भूमिकाबाट के राज्यलाई विमुख गराउन लागिएको हो प्रधानमन्त्रीज्यू ?’

‘द्वन्द्व निरुपण होइन भड्कावलाई बल पु¥याउने मन्त्रीको भूमिका ब्यक्तिगत स्वेच्छाचारीता कि राज्यकै प्रतिनिधित्व ? मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम ?’, शर्माले प्रश्न गरेका छन् ।

‘राज्यको भूमिका जिम्मेवारपूर्ण बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरू र आज संविधानमा लेखिएका न्यायका अक्षरहरूको मूल्य के बांकी रहन्छ प्रधानमन्त्रीज्यू ?’, विज्ञप्तिमा भनिएको छ ।

‘प्रश्न रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो’, शर्माले भने, ‘हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो ।’

‘सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले बिषयको उठान र निदान गर्ने राज्य ब्यवस्था चाहन्छौं भन्ने पनि हो’, उनले भनेका छन् ।

‘विभेदका कारण अनेक अपमान, अवहेलना र हत्या समेत जारि छ समाजमा । शिक्षण अस्पतालबाट अजित मिजारको लाश अझै उठेको छैन, नवराज विकहरूको घटना आलै छ’, कांग्रेसले भनेको छ ।

‘विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजि गरिरहेको छ’, प्रवक्ता शर्माले भने, ‘पछिल्लो घटनामा राज्यकै भूमिका उपर गम्भीर प्रश्न उब्जिएको छ ।’

‘गम्भीर प्रश्नमा जवाफदेही बन्ने कि सम्पूर्ण मौनता राख्ने प्रधानमन्त्रीज्यू ?’, कांग्रेस प्रवक्ता शर्माले भनेका छन् ।

रुपा सुनारले जातीय विभेदविरुद्ध संघर्ष गरिरहेका बेला कांग्रेसले दलितको पक्षमा आवाज उठाएको छ । ओलीको दल एमालेले यो विषयमा बोल्न डराएको छ ।

एमालेका नेता एवम् शिक्षामन्त्री जस्तो व्यक्ति नै प्रहरी हिरासतमा पुगेर जातीय छुवाछुत गरेकी दोषीलाई आफ्नो झण्डावाल गाडीमा राखेर ल्याएपछि विरोध भएको छ ।

Published : Friday, 2021 June 25, 11:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया