धादिङमा स्याल कराउँदा बालुवाटारमा खैलाबैला, डरले थुरुरु

काठमाडौं । कम्युनिस्ट कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको भन्दै असन्तुष्टि जनाएका छन् ।

शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले रिसाएको बिरालोले खाँबो चिथोर्छ भनेझैं राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ, त्यो ठूलो हुने प्रतियोगिता नै चलेको बताए ।

‘हिजो पनि केही भुतपूर्वहरूको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ, त्यसमा पनि राष्ट्रपतिमाथि’, उनले भने, ‘राष्ट्रपतिभन्दा राजै राम्रो भन्नेसम्म उहाँहरू पुग्नुभयो ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षक अभिभावक मानेको राष्ट्रपतिले समेत आफ्नो गरिमा राख्न नसकेको बताएका थिए । त्यसको जवाफ दिँदै ओलीले प्रचण्डको आलोचना गरेका छन् ।

ओलीले राष्ट्रपति आफूले पाएको अधिकारमा सीमित रहेको भन्दै बचाउ गरेका छन् । ‘उहाँहरूको सम्बन्धमा मलाई धेरै केही भन्नु छैन’, ओलीले भने, ‘आ–आफ्नो कल्चरल लेभलको कुरा होला, गणतन्त्रप्रति वैरभाव पनि होला ।’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले सेटिङमा फैसला गरेको त होइन भन्ने प्रश्न उठाएका छन् ।

सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरूलाई काम गर्न रोक लगाउनु अघिल्लो दिन नै प्रचण्डले धादिङमा बोलेको भन्दै उनले यो प्रश्न उठाएका हुन् ।

उनले भने, ‘धादिङमा अघिल्लो दिन नै भने, पछि नियुक्त गरिएका मन्त्रीहरु भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु ।’ ओलीले प्रचण्डको अभिव्यक्तिप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका थिए ।

‘अथवा न्याय निष्पक्ष भयो कि अरु नै हिसाबले एउटा हल्ला छ नि सेटिङ…’, ओलीले भनेका छन् ।

‘भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो । कसरी त्यो भयो ?’, ओलीले भने, ‘गम्भीर प्रश्न छ ।’

Published : Friday, 2021 June 25, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया