रामचन्द्र पौडेल निराश हुँदै बाहिरिए, गुटकै भेलामा ठूलो धोका

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गुटको भेला राखेर भावी सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंको बसुन्धरामा रहेको दियालो फुडल्याण्डमा पौडेलले आफू निकटका नेताहरूलाई बोलाएर परामर्श गरेका हुन् ।

भेलाको सुझावबाट नेता पौडेल निराश भएका छन् । पौडेलले भेला जुन उदेश्यले राखेका थिए त्यो उदेश्य पूरा नभएपछि मलिन हुँदै भेलाबाट बाहिरिएको एक नेताले छन् ।

भेलामा पौडेलका कुरा सुनेपछि सभापतिका महत्वकांक्षी नेताहरू चकित परेका थिए । पौडेल समूहमा सभापतिका आधा दर्जन नेताहरू आकांक्षी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र उप–सभापति विमलेन्द्र निधीले १४औँ महाधिवेशनमा साभापतिका गृहकार्य गरेपछि पौडेल समूह पनि सलबलाएको हो । देउवा समूह परित्याग गरेर निधीले गुट बनाएर सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

निधीले देउवा र पौडेल समूहको नेताहरूसँग भेटेर परामर्श गर्न थालेका छन् । देउवाले पनि आफू निकटका नेताहरूको भेला गरेर भोट मागिसकेका छन् ।

भेलामा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, सुजाता कोइराला, रामशरण महत, शेखर कोइराला, कल्याण गुरुङसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

पौडेलका साथै शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, कनिष्ठ नेता कल्याण गुरुङले सभापतिमा दाबी गर्दै आएका छन् ।

भेलामा बुढाखाडा नेताहरूबाट कांग्रेस चल्न नसक्ने भएपछि अर्को पुस्तालाई सभापतिमा सहयोग गरेर देउवा र निधीलाई समाप्त पर्ने प्रस्तावमा पनि छलफल भएको थियो ।

पौडेल समूहको गुटको भेलामा सहभागी हुनुभन्दा पहिला महामन्त्री कोइराला, नेता सिंह र उप–सभापति निधीबीच महाराजगञ्जमा भेटवार्ता भएको थियो ।

भेलामा पौडेलले जसरी पनि आफू एकपटक सभापति हुने इच्छा रहेको कुरा सुनाएका थिए । पौडेलको कुरा सुनेपछि अरु नेताहरू झस्किएका थिए ।

Published : Friday, 2021 June 25, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया