बुढानिकलण्ठको निर्णयले बालुवाटारको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठमा बुधबार साँझ बसेको गठबन्धनको बैठकले ओलीको प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम अगाडि बढाउने निर्णय लिएको हो ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वास्थ्य मापदण्ड अपनाएर विरोधका कार्यक्रम गर्नेबारे सैद्धान्तिक छलफल भएको जानकारी दिए ।

उनले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रमअन्तर्गत बिहीबार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको बताए ।

प्रधानमन्त्री ओलीले लिएको प्रतिगमनकारी निर्णयविरुद्धमा संघर्षका कार्यक्रम गर्न पार्टी संगठनलाई जनपरिचालन गरिनेछ ।

प्रधानमन्त्री ओलीले बहुमतको सरकार चलाउन नसक्ने परिस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले दिएको २१ घण्टाको समय सीमाभित्र विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर (बहुमत)सहित सरकार गठनका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर दाबी पेस गरेको थियो ।

ओलीले पनि दाबी पेस गरेपछि राष्ट्रपति भण्डारीले दुबै दाबीमा सरकार बहुमत पुग्ने आधार नदेखिएको भन्दै खारेज गरिदिएकी थिइन् ।

मन्त्रिपरिषदको सिफारिसमा जेठ ७ गते राति प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरू उपस्थित थिए ।

Published : Wednesday, 2021 June 23, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया