देउवालाई सभापतिमा साथ दिने केन्द्रीय सदस्यहरू घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरूले शेरबहादुर देउवालाई १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न सुझाव दिएका छन् ।

काठमाडौंको बुढानिकलण्ठमा सोमबार आफू निकटका केन्द्रीय सदस्य र पदाधिकारीहरूसँगको छलफलमा देउवालाई सभापतिमा उम्मेदवारी दिन सुझाव आएको हो । देउवाले सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका देउवानिकट १५ जना केन्द्रीय सदस्य र पदाधिकारीहरूसँग छलफल गरेका थिए ।

देउवाले आफू पुनः सभापतिमा दोहोरिन चाहेको सुनाएका थिए । देउवाले संकटका बेला पार्टीलाई सम्हालेको भन्दै नेताहरू साथ दिने बताएका छन् ।

देउवा समूहबाट उप–सभापति विमलेन्द्र निधी बाहिरिएको विषयमा पनि चर्चा र छलफल भएको थियो । केन्द्रीय सदस्यहरूले निधी समूहबाट बाहिरिदैमा ठूलो असर नपर्ने बताएका थिए ।

‘विमलेन्द्र निधीले अलग गुट बनाएर सभापतिमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ’, एक नेताले भने, ‘महाधिवेशनमा सामान्य असर पर्ला । तर, हामीले युवाहरूलाई समेटेर टिम बनाउनुपर्छ । निधी जाँदैमा कमजोर छैनौँ ।’

देउवाले सोमबार पनि निधिको कुरा उठेपछि सभापतिमा लड्ने अधिकार रहेको भन्दै रोक्ने पक्षमा आफू नरहेको बताएका थिए ।

केन्द्रीय सदस्यहरूले २०७२ सालमा भएको १३ औं महाधिवेशनका बेलाभन्दा अहिले सभापति जित्न झन् सजिलो भएको बताएका छन् ।

देउवाले आफू निकटका केन्द्रीय सदस्य र पदाधिकारीसँग १४औँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्दै आएका छन् । देउवाले आफूलाई सभापतिमा सहयोग गर्न पनि अनुरोध गर्दै आएका छन् ।

शनिबार देउवाले छलफल गरेका थिए । प्रदेश नम्बर १ र २, आइतबार बागमती र गण्डकी तथा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेतासँग देउवाले परामर्श गरेका छन् ।

Published : Monday, 2021 June 21, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया