देउवा समूहबाट यी हुन् धेरै अवसर पाउने अनुदारवादी नेता, अब राम्रा नेताहरू माथि आउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग भेटवार्ता गरेका छन् ।

सभापति देउवाले शनिबार आफ्नै निवास बुढानिलकण्ठमा १४औँ महाधिवेशनका विषयमा छलफल गरेका हुन् । उनले प्रदेश नं. १ र २ का कांग्रेस नेताहरूसँग परामर्श गरेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

‘सभापतिज्यूले सबै प्रदेशका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग १४औँ महाधिवेशनका विषयमा परामर्श गर्नुभएको हो’, उनले भने, ‘अरु के कुरा भयो मलाई पनि थाहा छैन ।’

देउवासँगको छलफलमा उप–सभापति विमलेन्द्र निधिले आफू पनि सभापतिको उम्मेदवार रहेको जनाएका छन् ।

निधिले देउवासँग १४औं महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ । तर, देउवाले निधिलाई सहयोग गर्न नसक्ने सन्देश दिएका छन् ।

१४औँ महाधिवेशनमा जो पनि सभापतिको उम्मेदवार बन्न सक्नेभन्दै आफूले सभापतिमा एक पटक उम्मेदवारी दिने निर्णय गरेको सुनाएका थिए ।

उप–सभापति निधिले देउवालाई सिधै असहयोग गर्ने बताएका छन् । दुई वर्षदेखि निधिले आफ्नो गुट चलाउँदै आएका छन् । निधिको गुटमा देउवा समूहका धेरै नेताहरू गएको चर्चा छ ।

निधिले देउवा समूहमा रहेर धेरै अवसर लिने नेतामा पर्छन् । गृह मन्त्री रहेका बेला निधिकै कारण नेपाल प्रहरीको महानिरीक्षक काण्ड भएको थियो ।

निधिले एमाले समर्थक नवराज सिलवाललाई आईजीपी बनाउन खोजेका थिए । देउवाले कांग्रेस समर्थक जयबहादुर चन्दलाई आईजीपी बनाउन खोजेका थिए । यही लफडाका कारण कांग्रेसले ठूलो मूल्य चुकाउनु परेको थियो ।

निधि देउवा समूहबाट बाहिरिएपछि अब निधिको थिचोमिचोमा परेका नेताहरूले माथि आउन अवसर पाउनेछन् । निधि कांग्रेसभित्र अनुदार नेताका रुपमा चिनिन्छन् ।

प्रदेश नं. २ का नेताहरू उप–सभापति निधि, केन्द्रीय सदस्यहरू गंगीलाल यादव, महेन्द्र यादव, शम्भुलाल श्रेष्ठ, आनन्दप्रसाद ढुंगानासहितका नेताहरू सहभागी थिए ।

यसअघि शनिबार नै सभापति देउवाले प्रदेश नं. १ का नेताहरू छलफलमा सह–महामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा.डीला संग्रौला, सुजाता परियारलगायत सहभागिता रहेको थियो ।

सभापति देउवाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूसँग पनि भेटेर आफू सभापति उठ्ने भएको भन्दै सहयोग गर्न आग्रह गर्ने तयारी गरेका छन् ।

Published : Saturday, 2021 June 19, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया