पौडेलको कम्युनिस्ट सरकारलाई कांग्रेसले तोरीको फूल देखाउने, ललितपुरमा गम्भीर छलफल

काठमाडौं । नेपाली कांग्रेसका बामगती प्रदेशका सांसदहरूले प्रदेशको कम्युनिस्ट सरकारले ल्याएको बजेट गरिव जनतको पक्षमा नरहेको भन्दै कडाप्रतिवाद गर्ने जनाएका छन् ।

ललितपुरको कुपण्डोलमा बागमती प्रदेश सरकारले ल्याएको बजेटको छलफलमा कसरी प्रस्तुत हुने विषयमा कांग्रेसका प्रदेश सांसदहरूले गम्भीर छलफल गरेका छन् । उनीहरूले कोरोना महामारीका बेला जनताको जीवन रक्षा गर्ने र निषेधाज्ञाका बेला घरभित्र रहेका जनतालाई राहत दिने गरेर कुनै पनि ठोस कार्यक्रम नआएको भन्दै आक्रोश पोखेका छन् ।

कांग्रेसका सांसदहरूले बागमती प्रदेश सभाको अबको बैठकमा बजेटमा जनताका कुराहरू राख्न र अति विपन्नका माग सम्बोधन गर्न दवाव दिने गरेर कडा रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेका छन् ।

अन्तरक्रियात्मक बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारले ल्याएको बजेटले जनताका धेरै मागलाई छुटाएको आरोप लगाए ।

उनले विपतमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा ठोर कार्यक्रम ल्याउन नसकेको भन्दै आक्रोश पोखेका छन् ।

आफ्नो भजनमण्डलीलाई भर्ती गरेर भजन गाउन लगाउन बागमती प्रदेश सरकारले मिडिया हाउस खोल्ने निर्णय गरेको भन्दै कांग्रेस नेता बानियाँले चिन्ता जनाएका छन् । सरकारले मिडिया चलाउन नहुनेभन्दै उनले गलत कार्यतिर कम्युनिस्ट सरकार लागेको बताए ।

‘बागमती प्रदेश सरकारले ल्याएको बजेट स्वतन्त्रतालाई अंकुश लगाउने किसिमको छ । अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउन यो बजेटको उदेश्य देखिन्छ’, उनले भने, ‘प्रदेश सरकारले मिडिया खोल्ने निर्णय गरेको छ । यो निर्णयप्रति नेपाली कांग्रेसको विमती छ । मिडिया हाउस खोलेर आफ्ना नभएका कुरालाई गलत रुपमा प्रचार गर्ने तयारी भएको छ ।’

मिडिया हाउसमा लगाउने पैसा बागमती प्रदेशको विकासमा लगाउनुपर्ने भन्दै उनले निजी क्षेत्रलाई मिडिया चलाउन सहयोग गर्नुपर्ने बताए । निजी क्षेत्रले सञ्चारमाध्यम चलाएर खबरदारी ग¥यो भने मात्रै लोकतन्त्र बलियो हुने उनको भनाइ छ ।

‘सुखी नेपाली, समृद्ध नेपालको कुरा गर्नेहरू जनताको हकहितमा बजेटमा ल्याएको छैन’, कांग्रेस नेता बानियाँले भने, ‘सुरुङ मार्ग बनाउँछु भन्ने, सुरुङ मार्गको लागि १७ अर्बको स्टिमेट छ । बजेट छुट्याइएको छ ७५ करोड ।’

‘यो सरकारले काम गर्छ कि कुरा गर्छ ? प्रेसलाई स्वतन्त्र छाड्नुपर्ने लोकतन्त्र र संविधानको कुरा हो । त्यहाँभित्र अंकुश लगाउनको लागि प्रदेश सरकारले मिडिया हाउस खोल्ने भनेको छ’, उनले भनेका छन् ।

‘सरकारले खोपका लागि बागमती प्रदेशभित्र कतिलाई खोप दिने ? कति समयभित्र दिने ? भन्ने कुरा सरकारको बजेटमा स्पष्ट छैन’, उनले भने, ‘खोप सबैलाई दिने भनेको छ । कहिलेसम्म दिने ? यो कुरा स्पष्ट छैन ।’

‘सरकारले अहिले भोकै रहेका जनताको लागि बजेटमा व्यवस्था गरेको छैन’, उनले भने, ‘लकडाउन, निषेधाज्ञा धेरै भयो । गरिव, विपन्न सर्वहाराले कसरी बाँचेका होलान् ? सरकार त्यतातिर दृष्टि छैन ।’

‘बजेटको आँखा त्यतातिर गएको छैन । सरकारले जे गरिरहेको छ त्यसले गरिवलाई केही दिने जस्तो देखिदैन’, उनले भनेका छन्, ‘बजेट सरसरर्ती हेर्दा बागमती प्रदेशका जनतालाई समृद्धितर्फ अगाडि बढाउनेतर्फको छैन । ग्रामीण वस्तीमा विपन्न चेपाङ, दलित, जनजाती र विकटामा यसले बजेटमा सम्बोधन गरेको छैन ।’

बागमती प्रदेश सभामा कम्युनिस्ट सरकारले बजेट पेश गरेको छ । सो बजेटमाथिको छलफलमा कसरी प्रस्तुत हुने ? के विषयलाई जोडदार रुपमा कांग्रेसले उठाउने ? सरकारलाई कसरी दवाव दिने ? लगायतका विषयमा सांसदहरूले धारणा राख्नुका साथै परामर्शहरू गरेका थिए ।

कांग्रेस नेता राजु नेपालले कांग्रेसको अर्थनीति लगायतका विषयमा जानकारी गराएका थिए ।

बागमती प्रदेशमा एमालेका नेता समेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलको सरकार छ । यो सरकारले ल्याएको बजेट जनताको पक्षमा छैन भनेर आलोचना भइरहेका बेला कांग्रेसले घेराबन्दी गर्ने तयारी गरेको छ ।

Published : Saturday, 2021 June 19, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया