प्रहरी, स्वास्थ्यकर्मी र कर्मचारीको तलव एकमुष्ट ५ हजार बढाउनुपर्छः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रहरी, स्वास्थ्यकर्मी र कर्मचारीहरूको तलव एकमुस्ट ५ हजार बढाएर प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

ललितपुरको कुपण्डोलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेता बानियाँले बामगती प्रदेश सरकारले ल्याएको बजेटले प्रहरी र कर्मचारीको मनोबल उठाउन नसकेको बताए ।

कोरोना महामारीका बेला प्रहरी, स्वास्थ्यकर्मी र कर्मचारीहरू काम गरेको भन्दै उनीहरूको मनोबल उच्च बनाउन तलवमा ५ हजार बढाउन प्रस्ताव गरेका हुन् ।

‘हामी कर्मचारीको नयाँ संरचनामा छौँ । बजेटले बागमती प्रदेशभित्रका प्रहरी, स्वास्थ्यकर्मी र कमर्चारीहरूलाई उत्साह बढ्नुपर्ने बढाएको छैन’, उनले भने, ‘बजेटले सबै निराश छन् ।’

‘प्रहरी पनि प्रदेश मातहत आउँदै छ । प्रदेश प्रहरीलाई प्रोत्साहत स्वरुप कम्तीमा ५ हजार बढाइदिने, निजामतीलाई कम्तीमा ५ हजार बढाइदिनुपर्ने, स्वास्थ्यकर्मीलाई ५ हजार बढाइदिनुपर्ने थियो । बढाइएन’, उनले भने, ‘केन्द्र सरकाले जे ग¥यो बागमती प्रदेश सरकारले त्यही गरेको छ । बामगती प्रदेश सरकार केन्द्र सरकारको छायाँ जस्तो भएको छ ।’

संविधानले स्वतन्त्र रहेको प्रदेश सरकारले जनतालाई बलियो बनाउने गरेर बजेटमा प्रस्तुत गर्नुपर्ने भएपनि बागमती प्रदेशले त्यो काम गर्न नसकेको उनले आरोप लगाए ।

‘बजेट गरिवमुखी, गाउँमुखी, उत्पादन र जनतालाई समृद्धि ल्याउने हुनुपर्छ । कोरोनाबाट कसरी बच्ने भन्ने हुनुपर्छ ? भौतिक संरचनाहरू भोलिका दिनमा कसरी बनाउनेमा ध्यान दिनुपर्छ । ती कुरालाई बजेटले सम्बोधन गरेको छैन’, कांग्रेस नेता बानियाँले भनेका छन् ।

Published : Saturday, 2021 June 19, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया