देउवाको प्रस्तावमा बस्नेतले पाए अर्को ठूलो जिम्मेवारी, समर्थनमा बैठक हल गुञ्जियो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा ‘नेपाली कांग्रेस दैवी प्रकोप तथा विपद् व्यवस्थापन समिति’ बनाएको छ ।

शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले बस्नेतलाई समितिको संयोजक बनाउने निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको संयोजक बनाउन बस्नेतको नाम प्रस्ताव गरेका थिए ।

सभापति देउवाको प्रस्तावलाई केन्द्रीय सदस्य बलबहादुर केसीसहितका नेताहरूले तत्कालै समर्थन जनाएको स्रोतले जनाएको छ ।

यो समितिले देशभरि हुने दैवी प्रकोपको सूचना संकलन गर्नेदेखि उद्धारमा नेता कार्यकर्ता परिचाल, राहत वितरणलगायतका काम गर्नेछ ।

देशभरि बाढीपहिरोको समस्या देखिएपछि कांग्रेसले पार्टीको तर्फबाट उद्धार र राहत वितरणका लागि नेता बस्नेतको संयोजकत्वमा समिति बनाएको छ । यो समितिलाई बस्नेतले केही दिनभित्रै विस्तार गर्नेछन् ।


कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका साथै समस्यामा परेका जनताको उद्धारमा आफै उपस्थित भएर सहयोग गर्दै आएका छन् ।

उनले सिन्धुपाल्चोक मात्रै नभइ अन्य जिल्लाहरूमा पनि कोरोना महामारीका बेला स्वास्थ्य सामग्रीहरू सहयोग गर्दै आएका छन् । उनको यो समाजसेवाका कारण देशभरिका कांग्रेसका शुभेच्छुकहरू खुसी छन् ।

कोरोना महामारीका बेला पनि नेता बस्नेतले आफूलाई अग्रपंक्तिमा राखेर जनस्वास्थ्यसम्बन्धी सहयोग र कामहरू गर्दै आएका छन् ।

खेलकुद विभागका प्रमुख समेत रहेका पूर्वमन्त्री बस्नेतले विभागमार्फत देशभरि कोरोना महामारीका बेला बिरामीलाई उपचार गर्न सहज होस् भनेर रक्तदान गराएका थिए । रक्तदान कार्यक्रममा सयौँ युवा र तरुणहरू सहभागी भएका थिए ।

Published : Saturday, 2021 June 19, 12:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया