पोखरामा पोखरेलको जादु देखेपछि एमाले निरास, कांग्रेसहितका दलहरू खुसी हुँदै निस्किए

पोखरा । नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् ।

पोखरामा शुक्रबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएका हुन् । पोखरेलको पक्षमा ३१ जना सांसदले मतदान गरेका थिए । विश्वासको मत पाएसँग मुख्यमन्त्री पोखरेलको सरकार दुई वर्षका लागि ढुक्कसँग चल्नेछ ।

पोखरेलका विरुद्ध एमालेको २७ मत खसेको थियो । गण्डकी प्रदेशमा अब एमाले प्रमुख प्रतिपक्षका रुपमा रहनेछ । बैठकमा ५८ जना प्रदेश सभाका सांसदहरूको उपस्थिति रहेको थियो ।

कांग्रेस संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्री पोखरेललाई कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदले समर्थन गरेका थिए ।

मुख्यमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थानुसार पोखरेलले विश्वासको मत लिएका छन् ।

एमालेका मुख्यमन्त्री एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकी पदबाट हटेका थिए । जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नसकिने संवैधानिक व्यवस्था छ ।

पोखरेलले विश्वासको मत पाएपछि एमाले निराश भएको छ । कांग्रेससहितका दलका सांसद र नेताहरू खुसी हुँदै प्रदेश सभा भवनबाट बाहिरिएका छन् ।

Published : Friday, 2021 June 18, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया