बेलबारीमा ‘बोका काण्ड’पछि बण्डर, पैसा पचाउन नगर प्रमुख र अधिकृतको ठूलै हर्कत

काठमाडौं । मोरङ जिल्लाको बेलबारी नगरपालिकाको ‘बोका काण्ड’ बाहिर आएको छ ।

नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, उप–प्रमुख ढाकाकुमार पराजुली र प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहको मिलोमतोमा महँगो मूल्यमा बोका र पाठीहरू खरिद गरेको रहस्य बाहिर आएको छ । कमिशनमा कुरा नमिलेपछि एक रुपियाँ पनि भुक्तानी नदिएर ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्न सिफारिस नगरपालिकाले गरेको छ ।

ग्रो अर्गानिक एग्रिकल्चर प्रा.लि.ले ई–बिङमार्फत बोका र पाठीहरू खरिदको ठेक्का पाएको थियो । नगरपालिकाले ग्रो अर्गानिक एग्रिकल्चरसँग १ करोड २४ लाखमा ठेक्का सहमति गरेको थियो । त्यस बेला ई–बिङ अरु कम्पनीले किन गरेनन् भनेर पनि प्रश्न उठेको छ ।

ठेकेदार कम्पनीले मापदण्डअनुसारको काम गरेको थिएन भने नगरपालिकाले शुरुमै कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने थियो । बोका र पाठीहरू बुझेर वितरण गरेपछि मात्रै कारबाही प्रक्रिया अगाडि बढाउनु नगरपालिकाको बदनियत देखिएको ठेकेदार कम्पनीको भनाइ छ ।

ग्रो अर्गानिक एग्रिकल्चर प्रा.लि.ले लिखित रुपमा प्रतिक्रिया दिँदै भनेको छ, ‘नगरपालिकाले हामीसँग बोका र पाठीहरू बुझेर वितरण गरेको छ । यदि बोका र पाठीहरूमा आशंका लागेको थियो भने शुरुमै जानकारी लिनुपर्ने थियो । बोका र पाठी हामीसँग बुझ्नै हुँदैन थियो । नगरपालिकाको नियत ठीक देखिएन ।’

‘हामी हाम्रो कामप्रति जिम्मेवार छौं । नगरपालिकालाई सहमतिअनुसार बोका र पाठी दिएका छौँ । उहाँहरूले अहिले आएर भुक्तानी दिने बेला किन बखेडा गर्नुभयो हामीलाई थाहा छैन’, ठेकेदार कम्पनीले भनेको छ, ‘उहाँहरूको नियतमा आशंका उब्जिएको छ । हामीले पाउनु पर्ने रकम पाउनुपर्छ । होइन भने हामी अदालतमा गएर न्याय माग्नेछौँ ।’

‘राज्यको नियकाले यसरी ठगी गर्ने नियतले काम गर्नु हुँदैन । होइन भने हाम्रो बोका र पाठीहरू जस्तोको त्यस्तै दिनुपर्छ । कि भुक्तानी गर्नुपर्छ’, ठेकेदार कम्पनीको लिखित प्रतिक्रियामा भनिएको छ, ‘हामी चुप लागेर बस्ने कुरा हुँदैन ।’

नगरपालिकाले अष्ट्रेलियाबाट महँगोमा बोका र पाठीहरू किनेर ल्याइ किसानलाई निःशुल्क वितरण गर्न टेण्डर आह्वान गरेको थियो ।

नगरपालिकाका मेयर सुवेदी, उप–मेयर पराजुली र प्रमुख प्रशासकीय अधिकृत शाहको मिलोमतोमा एउटा बोका वा पाठीलाई १ लाख ५० हजारमा खरिद गर्ने टेण्डर निकालेको आशंका पैदा भएको छ ।

ठेकेदारले तोकिएको समयभित्र ९३ वटा बोका र पाठी नगरपालिकालाई दिएको छ । ठेक्कामा ८३ वटा मात्रै बोका र पाठी दिने सहमति थियो । बोका र पाठी नगरपालिकाले जेठ १५ गते किसानलाई वितरण गरेको छ ।

ठेकेदार कम्पनीलाई नगरपालिकाले रकम दिने बेला बोका र पाठीको मापदण्ड नपुगेको भनेर बखेडा गरेको छ ।

१ करोड २४ लाखको बिल काटेर भुक्तानी दिने बेला मेयर सुवेदी, उप–मेयर ढकाल र प्रमुख प्रशासकीय अधिकृत शाहले कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेर ठेक्का सम्झौता नै रद्द गरेको सूचाना जारी गरेका छन् । नगरपालिकाको यो निर्णयले ठेकेदार कम्पनीलाई ठूलो नोक्सानी भएको छ ।

बोका र पाठीहरू मापदण्डअनुसार थिएन भने नगरपालिकाले बुझ्नु हुँदैन थियो । बोका र पाठी बुझेर वितरण गर्ने अनि भुक्तानी दिने बेला बखेडा गरेपछि नगरपालिकाको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको छ । नगरपालिकाले सफाइको उपयुक्त समय नदिएर ठेक्का रद्द गर्नेदेखि कम्पनीलाई कालो सूचीमा राख्न लेखेर पठाउने निर्णय गरेको छ ।

बोका र पाठीहरू अस्वाभाविक रुपमा महँगोमा खरिद गर्न टेण्डर निकालेको विषयमा भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । अख्तियारले नगरपालिकालाई कारबाहीको दायरामा ल्याएर सोधपुछ समेत गरिसकेको छ ।

उन्नत जातका बोका र पाठीहरू नेपालमै सस्तो मूल्यमा पाइन्छन् । तर, बेलबारी नगरपालिकालाई अष्ट्रेलियाबाट ल्याएको बोका र पाठी नै चाहिएपछि ठेक्काको सूचना निकाल्नेहरूमाथि आशंका उब्जिएको छ ।

बोका र पाठीहरू वितरण गरिसकेपछि भुक्तानी गर्ने बेला कमिशनमा कुरा नमिलेर चेक नकाटेको आरोप लागेको छ । केही तथ्यहरू (रेकर्ड)मा कमिशनको बार्गेनिङ भएको देखिएको स्रोतको दाबी छ ।

मेयर सुवेदीले शुरुको कमिशन २० लाखबाट बढाएर ४० लाख, उप–मेयर पराजुलीले ९ लाखबाट बढाएर १५ लाख तथा प्रमुख प्रशासकीय अधिकृतले ५ लाखबाट बढाएर १० लाख कमिशनको मागेको आरोप छ ।

तर, मेयर सुवेदी, उप–मेयर पराजुली र प्रमुख प्रशासकीय अधिृकत शाहले कमिशन मागेको आरोप झुठ्ठा रहेको दाबी गरेका छन् । उनीहरूले कमिशनको कुरामा सत्यता नरहेको बताए ।

उप–प्रमुख पराजुलीले आफू टेण्डर प्रक्रियामा धेरै जानकारी नरहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘टेण्डर निकाल्ने बेलाको निर्णय मलाई थाहा छ । त्यसपछि केही जानकारी छैन । कमिशनको कुरा झन् थाहै छैन । सबै झुठ हो ।’

नेपाल र अष्ट्रेलियाको हावापानी मिल्दैन । अष्ट्रेलियाबाट बोका र पाठीहरू ल्याएर किसानले पाल्ने भन्ने कुरा सुन्दै अनौठो लाग्छ । अष्ट्रेलियन जातको बोका र पाठीहरू नेपालमा पनि पाइन्छ । नगरपालिकालाई अष्ट्रेलियाबाट जहाजमै चढेर आएको बोका र पाठी चाहिएको भनेपछि समस्या उत्पन्न भएको छ ।

नगर प्रमुख सुवेदी र उप–प्रमुख पराजुली एमालेबाट निर्वाचित हुन् ।

प्रमुख प्रशासकीय अधिकृत शाहले ठेक्का सहमति विपरितका बोका र पाठीहरू दिएकाले ठेक्का रद्द गरेर कालो सूचीका लागि लेखेर पठाइएको बताए ।

उनले भने, ‘ई–बिडिङ निकाल्यौँ । अष्ट्रेलियन फुल ब्लड भएको बोका र पाठी ल्याउने भनेर एग्रिमेन्ट गरियो । अष्ट्रेलियाबाट नभएर लोकल मार्केटबाट संकलन गरेर ठेकेदारले ल्यायो ।’

‘गलत चिज आएको भन्ने निष्कर्षमा पुगेपछि उहाँहरूको पेमेन्ट एक रुपियाँ पनि गरेको छैन । एग्रिमेन्ट १ करोड २४ लाखको हो’, शाहले भने, ‘५० वटा बोका र ३३ वटा पाठी ल्याउने सहमति भएको हो । उहाँहरूले ९२ वटा ल्याउनुभयो । ८३ वटा ल्याउने सहमति भएको थियो । प्रतिष्ठा र प्रचारको लागि हाम्रोतर्फबाट बोनस दिएको भनेर बुझाउनुभयो ।’

तपाईहरूले कम्पनीसँग बोका र पाठीहरू बुझेर किसानलाई वितरण गर्ने ? भुक्तानी दिने बेला यो वा त्यो भएन भनेर बखेडा गर्न पाइन्छ ? भन्ने जिज्ञासामा शाहले भने, ‘लकडाउन भएर अफिस पूरै बन्द थियो । कहिँ केही नभएको अवस्था । बोका किसानलाई जिम्मा दिएर पठायौँ । राख्ने ठाउँ पनि भएन । डकुमेन्ट १/२ दिनमा ल्याएर आउँछौँ भन्नुभयो । ९२ बोका राख्ने र खुवाउने ठाउँ नरहेको अवस्था । कहाँ राख्ने ? कसले हेर्ने ? झार्नेवित्तिकै ३ घण्टामा किसानलाई वितरण गरिदियौँ । जेठ १५ गते बिहान साढे आठ बजे ल्याउनुभयो ।’

‘एउटाले मात्रै बिड भरेको थियो । धरौटी ६ लाख २० हजार छ । मापदण्डअनुसार नल्याए प्रतिस्थापन गर्ने कानूनी व्यवस्था छ । किसानलाई बाँडेपछि किसानसँग लिन जाने अवस्था रहँदैन । बोका फिर्ता ल्याओ भन्न हामी सक्दैनौँ’, प्रमुख प्रशासकीय अधिकृत शाहले भने, ‘उहाँहरूलाई यहाँ आउन समस्या देख्छु म । उहाँहरू कानूनी प्रक्रियामा जाँदा भोलि हामीले पनि त्यहीअनुसार निर्णय गर्नुपर्ने अवस्था छ ।’

‘एउटा बोका वा पाठीको करीव १ लाख ५० हजार मूल्य परेको छ । कमिशन मागेका छैनौँ’, शाहले भने, ‘बोका र पाठी अष्टेलियाबाट आएको प्लेनको टिकट, भन्सार रेकर्डाविना पेमेन्ट हुँदैन ।’

प्रमुख प्रशासकीय अधिकृत शाहले भने, ‘बोका र पाठी अष्ट्रेलियाबाट किनेर वितरण गर्ने निर्णय अघिल्लो आर्थिक वर्षमा नगर प्रमुखज्यूले गर्नुभएको हो । म पछि आएको हुँ ।’

Published : Thursday, 2021 June 17, 8:02 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया