कांग्रेससहितका शीर्ष नेताहरूद्वारा जनताको सुरक्षाको माग, बालुवाटारमा तरंग

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसहित ५ दलीय गठबन्धनका शीर्ष नेताहरूले बाढीपहिरोबाट जनधनको ठूलो क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

शीर्ष नेताहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर बाढी, पहिरो र डुबाटबाट समस्यामा परेका जनताको सुरक्षा माग गर्दै उद्धार र राहतको माग गरेका छन् ।

‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरूका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरूको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसंग माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले भने, ‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं ।’

‘यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्‍याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरूलाई हामी हार्दिक आह्वान गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

मनसुन वर्षाको आरम्भमा नै देशका अधिकांश जिल्लाहरूमा बाढी र पहिरोको प्रकोप देखिएको विज्ञप्ति गठबन्धनले भनेका छन् ।

‘यसको कारण कतिपय मानिसहरूको ज्यान गएको छ भने अर्बौ रुपियाँ बराबर भौतिक संरचना, अन्नबाली र पशुचौपाया नष्ट भएका छन्’, उनीहरूले भनेका छन ।

‘फलस्वरुप कोरोना महामारीबाट आक्रान्त जनजीवन झनै कष्टकर बनेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।’

‘सरकार उक्त प्रकारको प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी गैर जिम्मेवार रहेको देखिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल रहेका छन् ।

Published : Thursday, 2021 June 17, 4:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया