तनाब बढेपछि ओलीद्वारा कानून व्यवसायीहरूसँग गोप्य वार्ता, खानेकुराको बाढी

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफू निकटका कानून व्यवसायीहरूसँग लगातार दुई दिन भेटवार्ता गरेर संविधान र कानूनी परामर्शहरू लिएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार र बुधबार दुई दिन एमाले निकटका कानून व्यवसायीहरूसँग बालुवाटारमा भेटवार्ता गरेको उच्च स्रोतले जनाएको छ । ओलीले सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रतिनिधि सभा विघटनसम्बन्धी विपक्षी दलहरूको रिटका विषयमा चासो राखेका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा ब्युँतिन्छ वा ब्युँतदैन भनेर जिज्ञासा कानून व्यवसायीहरूसँग राखेका थिए । जवाफमा संविधानको ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले विचाराधीन विषयमा के हुन्छ भनेर आफूहरूले भन्न नसक्ने जवाफ ओलीलाई दिएको एकजना वरिष्ठ कानून व्यवासयीले बताए ।

वरिष्ठ कानून व्यवासयीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा गर्न नसक्दा आलोचना भएको बताएका थिए । ‘प्रधानमन्त्रीज्यूको भन्दा पनि राष्ट्रपतिको ओलोचना भएको छ’, नाम उल्लेख नगर्ने सर्तमा ती कानून व्यवसायीले भने, ‘राष्ट्रपति भण्डारीले निर्णय लिँदा संविधान र विधिलाई टेकेर गर्नुपर्ने सुझाव दिएका छौँ ।’

ओलीले एमाले निकटका कानून व्यवसायीहरू सुवासचन्द्र नेम्वाङ, सुशील पन्त, अग्नि सापकोटा, सुरेन्द्र भण्डारी, रमेश बडाल, शिव अर्यालसहितका झण्डै दुई दर्जन कानून व्यवसायीहरूसँग बालुवाटारमा मंगलबार र बुधबार भेटवार्ता गरेका थिए ।

ओलीले मंगलबार वरिष्ठ कानून व्यवसायीहरूलाई बोलाएका थिए । बुधबार भने दोस्रो तहका कानून व्यवसायीहरूलाई बोलाएर परामर्श लिएका थिए ।

दोस्रो तहका कानून व्यवसायीहरूले प्रतिनिधि सभा सर्वोच्च अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेकाले एमालेलाई एकताबद्ध बनाएर अगाडि बढ्न ओलीलाई सुझाव समेत दिएका छन् ।

ओलीले परामर्शका लागि बोलाएका कानून व्यवासयीहरूलाई खाने कुरा पेटभरि खुवाएर पठाएका थिए ।

Published : Wednesday, 2021 June 16, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया