कांग्रेसमा दुई सभापतिको प्रस्ताव, गुटबाटै विरोध, रामचन्द्रलाई चोचोमोचो नमिलाउन चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाभित्र दवाव सिर्जना गर्न गुटको बैठक राखेको छ ।

पौडेल समूहले काठमाडौंको ठमलेस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार गुटको भेला गरेको हो । भेलामा सभापति देउवाले भदौमा महाधिवेशन गर्न आलटाल गरेको भनेर आरोप लगाएको एक नेताले बताए ।

१४औँ महाधिवेशन गर्न सभापति देउवा अनिच्छुक रहेको भनेर पौडेल समूहले बाहिर बखेडा गर्दै आएको छ । महाधिवेशन गर्न मिलेर जानुपर्ने बेला पौडेल समूह भने गुटको बैठक र भेलाहरू गरेर आफैभित्र बबण्डर मच्चाइरहेका छन् ।

पौडेल समूहभित्र १४औँ महाधिवेशनमा सर्वसम्मत रुपमा सभापतिको उम्मेदवार बनाउन सकेका छैनन् । नेता पौडेलले आफू सभापतिको उम्मेदवार बन्ने यसअघि जनाइसकेका छन् ।

तर, प्रकाशमान सिंह, शशांक कोइरालासहितका नेताहरू पौडेल समूहबाट सभपातिको आकांक्षी छन् ।

उता, वरिष्ठ नेता पौडेलले अहिको कार्यसमितिलाई नै एक वा दुई वर्ष म्याद थप गरेर जाने र कांग्रेसमा दुई वटा सभापतिको अवधारणा अगाडि सारेका छन् ।

नेता पौडेलले दुई वटा सभापतिको धारणा अगाडि सारेपछि उनकै गुटभित्र विरोध भएको छ । पौडेल समूहकै नेताहरूले सभापति देउवासँग चोचोमोचो मिलाएर सभापति बन्न कांग्रेसका दुई वटा सभापतिको धारणा ल्याउनु गलत भएको बताएका छन् ।

‘पौडेल समूहले अहिलेकै कार्यसमितिलाई एक वर्ष वा दुई वर्षको समय थपेर १४औँ महाधिवेशनको नाम दिने । दुई वटा सभापति राख्ने’, एक नेताले भने, ‘१५औँ महाधिवेशनमा अहिले सभापति हुनेहरू उम्मेदवार बन्न नपाउने व्यवस्था राख्न प्रस्ताव आएको छ ।’

पौडेल समूहबाट दुई वटा सभापति राख्ने प्रस्तावालई अस्वीकार गरिदिएको छ । सभापति देउवाले पौडेल समूहबाट दुइटा सभापति राख्ने प्रस्ताव सुन्न पनि मानेका छैनन् । बरु भदौमा स्वास्थ्य मापदण्डहरू अपनाएर महाधिवेशन गर्ने सन्देश देउवाले दिएको एक नेताले बताए ।

पौडेल समूहबाट नेकपा, राप्रपा र जसपाको जस्तै दुई वटा अध्यक्ष मोडलमा जान प्रस्ताव गरेपछि कांग्रेसका नेता कार्यकर्ता दिक्क भएका छन् ।

पौडेलले १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेर सभापति बन्नेभन्दा पनि अहिलेकै कार्यसमितिलाई म्याद थप गरेर देउवा र आफू सभापति बन्ने, केही पदाधिकारी थपघट गर्ने, केन्द्रीय सदस्य बनाउने अनि महाधिवेशन भयो भनेर कागजी रुपमा मिलाएर जाने तयारीमा रहेको आरोप छ । पौडेलको यो प्रस्तावलाई देउवाले रुचाएका छैनन् ।

यद्यपि, सभापति देउवाले भदौमा महाधिवेशन गर्न आफू तयार रहेको र तयारीमा जुट्न आह्वान गर्दै एक हप्ता अगाडि विज्ञप्ति जारी गरेका थिए । देउवाले भदौमा महाधिवेशन गर्नभन्दै क्रियाशील सदस्यता विवाद छिटो मिलाउन निर्देशन दिइसकेका छन् ।

उता, उप–सभापति विमलेन्द्र निधिले पनि गुटलाई बलियो बनाउँदै लगेका छन् । निधिले पनि आफूलाई सभापतिको उम्मेदवारमा जबरजस्त रुपमा प्रस्तुत गर्दै आएका छन् ।

शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । उनले पनि कोइराला परिवारको विरासत थाम्न सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

कांग्रेसमा सबैभन्दा कमजोर गुट शेखर कोइरालाको मानिन्छ । शेखर कोइरालाले स्व.गिरिजाप्रसाद कोइरालाको उत्ताराधिकारी आफूलाई स्वघोषित रुपमा दाबी गर्दै आएका छन् ।

Published : Tuesday, 2021 June 15, 11:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया