चीन टुक्र्याउने हर्कतमा लागेका यी हुन् ओलीका विवादित मन्त्री

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट कामचलाउ सरकारका युवा तथा खेलकुदमन्त्री एकवाल मियाँ स्वतन्त्र तिब्बत अभियानमा लागेका विवादित व्यक्ति हुन् ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूहबाट मियाँ खेलकुद मन्त्री बनेका छन् ।

मियाँ २०७५ मा विवादमा तानिएका निवर्तमान सांसद हुन् । मियाँ त्यतिबेला स्वतन्त्र तिब्बतसँग सम्बन्धित एक कार्यक्रममा सहभागी भएर विवादमा तानिएका थिए ।

चीनबाट तिब्बतलाई अलग बनाउने अभियानमा स्वतन्त्र तिब्बत अर्थात फ्रि तिब्बतको अभियान चल्दै आएको छ । यसको नेतृत्व भारतमा निर्वासित जीवन बिताउँदै आएका बौद्ध धर्मगुरु दलाई लामा हुन् । नेपालले एक चीन नीतिको पक्षमा आफ्नो भनाइ राख्दै आएको छ ।

तिब्बतलाई अलग बनाउने अर्थात चीन टुक्र्याउने गतिविधिभन्दै बेइजिङले स्वतन्त्र तिब्बतको अभियानलाई कडा निगरानी र नियन्त्रण गर्दै आएको छ ।

ओलीले स्वतन्त्र तिब्बतको मुभमेन्टमा लागेका मियाँलाई मन्त्री बनाएपछि बबण्डर मच्चिएको छ ।

लाटभियाको संसदको ‘तिब्बतका लागि सहयोग समूहको सहयोगमा टिबेटियन पार्लियामेन्ट इन एक्साइल’ले आयोजना गरेको सातौँ पार्लियामेन्टेरियन कन्भेन्सन अन तिब्बतमा नेपालबाट मियाँसहित दुई जना सांसद सहभागी भएका थिए ।

जसपाका अर्का सांसद प्रदीप यादव पनि मियाँसँगै लाटभिया पुगेका थिए ।

लाटभियाको रिगामा आयोजना भएको सम्मेलनमा नेपाल, भारतसहित विभिन्न देशमा करीव २५ सांसद सहभागी थिए ।

जनसाका नेता मियाँसहित दुई सांसद उक्त कार्यक्रममा सहभागी भएको सूचना चुहिएलगत्तै चीनले सरकारसँग गम्भीर प्रश्न उठाएको थियो ।

चीनको आपत्तिपछि परराष्ट्र मन्त्रालयले १४ मे २०१९ मा विज्ञप्ति निकाले सांसदको सहभागिताको विषयमा अनभिज्ञता प्रकट गरेको थियो ।

तत्कालीन संघीय समाजवादी पार्टीले यादवलाई कारबाही गरेको थियो । मियाँलाई भने तत्कालीन राष्ट्रिय जनता पार्टीले केही पनि गरेको थिएन ।

युवा तथा खेलकुदमन्त्री मियाँ आफूलाई एनजीओलीले झुक्काएर लगेको दाबी गरे । उनले भने, ‘म मात्रै गएको होइन । प्रदीप यादव पनि जानु भएको थियो । थाहा पाएपछि हामी कार्यक्रममा सहभागी नभएर आयौँ । हस्ताक्षर पनि गरेका छैनौँ ।’

मन्त्री भएपछि स्वतन्त्र तिब्बतको अभियानमा लाग्नु भएको छ कि छैन ? भनेर सोधिएको जिज्ञासामा मन्त्री मियाँले भने, ‘अहँ लागेको छैन । त्यो बेला पनि मलाई थाहा नभएर गएको हो ।’

Published : Monday, 2021 June 14, 2:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया