डीएसपी खड्कालाई सोह्रखुट्टे वृत्तबाट हटाउन गिरोह सफल

काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका इञ्चार्ज एवम् नायब उपरीक्षक (डीएसपी) दीपक खड्कालाई कारबाहीमा परेका छन् ।

डीएसपी खड्कालाई सोह्रखुट्टेबाट हटाउन भूमितगत गिरोह सफल भएको छ । सोह्रखुट्टे प्रहरी वृत्तिमा जान डीएसपीहरूबीच कडा प्रतिस्पर्धा नै चल्छ । सोह्रखुट्टेमा जाँदा ‘टेबलमुनिबाट राम्रो कमाइ’ हुने चर्चा पनि छ ।

डीएसपी खड्कालाई प्रारम्भीक कारबाही स्वरुप वृत्तबाट तानेर महानगरीय प्रहरी परिसर टेकुमा लगिएको छ । उनले टेकुमा हाजिर गर्न थालेका छन् । उनलाई आर्थिक अनियमितताको आरोप लागेको छ । डीएसपी खड्कालाई चिनेजानेकाहरूले राम्रो आचारणको भएको बताउने गर्छन् ।

उनलाई ढिलोसम्म रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिएको आरोप पनि लागेको छ । ठमेल जस्तो पर्यटकीय बजारमा समय परिवेश हेरेर रात्रिकालीन व्यवसाय केही ढिला खोल्न दिनु प्रहरीको दायित्व पनि हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले डीएसपी खड्कालाई कारबाहीस्वरूप नसियत दिइएको बताएका छन् ।

डीएसपी खड्कामाथि लागेको आरोप छानविन गर्न एआईजी पालले प्रहरी उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् ।

डीएसपी खड्कासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । यद्यपि, खड्काले विभिन्न अनलाइन र सञ्चारमाध्यममा आफूलाई लागेको आरोप पुष्टि गर्न चुनौती दिँदै केही गिरोह बद्नाम गर्न लागेको बताउँदै आएका छन् ।

हुन त प्रहरीभित्र समकक्षीहरूका बीच अस्वथ्य प्रतिस्पर्धा हुने गरेको आरोप लाग्दै आएको छ । राम्रो र आकर्षक ठाउँमा जान आफ्ना प्रतिस्पर्धीहरूलाई समाचार लेखाएर हुन्छ वा कुन अभियोग लगाएर रोक्न अनि त्यो ठाउँमा जाने गरेको आरोप लाग्दै आएको छ । सोह्रखुट्टेमा जानका लागि अर्को डीएसपीको नजर परेका कारण खड्कामाथि निशाना लगाएको चर्चा छ ।

प्रहरीको गोप्य कुराहरू प्रहरीकै अधिकारीहरूबाट मिडियामा ल्याएर बद्नाम गर्ने चलन नै भएको छ । प्रहरीभित्र उच्च अधिकारीहरू समकक्षीबाट हुने अत्याचारको पीडित नै छन् ।

Published : Monday, 2021 June 7, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया