राष्ट्रपति र मुख्यमन्त्रीको जिल्लामा एमाले नेतालाई जनताले सबक सिकाए, घुँडा टेकेर माफी मागे

हतुवागडी । भोजपुर जिल्लास्थित हतुवागढी गाउँपालिका–४ खैराङका वडाध्यक्ष एवम् एमालेका नेता चन्द्रबहादुर विष्टलाई जनताले दण्ड दिएर सबक सिकाएका छन् ।

वडाध्यक्ष विष्टले स्थानीय ७० वर्षीय वृद्ध भक्तबहादुर राईको खुट्टा ढोकेर शरण परेपछि स्थानीय जनताले माफी दिएका हुन् ।

जेठ १२ गते आफूलाई पैसा आउने काम दिन माग गर्ने वृद्ध राईलाई उच्चजातीय अहंकार देखिने गरी तल्लोस्तरका अपशब्द प्रयोग गरेर वडाध्यक्ष विष्टले गालीगलौज गरेका थिए । त्यसपछि विष्टको आलोचना भएको थियो ।

वडाध्यक्ष विष्टले वृद्ध राईलाई अमानवीय शैलीबाट अपशब्द गरिरहेको भिडियो भोजपुरका पत्रकार एक्सन राईले सामाजिक सञ्जालमा पोस्ट गरेपछि भाइरल भएको थियो ।

वडाध्यक्ष विष्टलाई किरात राई यायोक्खाको खैराङस्थित कार्यसमितिले क्षमा याचना नगरे तत्काल निलम्बन गरी कारवाही गर्न माग गरेर आन्दोलनको धम्की दिएको थियो । धम्कीपछि वडाध्यक्ष समेत रहेका एमालेका नेता विष्ट डरले थुरुरु भएका थिए ।

काठमाडौं उपत्यका लगायत देशभरिका दर्जन बढी सामाजिक अगुवाहरूले पनि विष्टलाई फोन सम्पर्क गरेर तत्काल माफ माग्न चेतावनी दिएका थिए ।

विष्टले गत जेठ १६ गते एक प्रेस विज्ञप्ति जारी गरी वृद्धसँग भेटेरै माफ माग्ने बताएका थिए ।

विष्ट एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली समूहका नेता पनि हुन् । विष्टले आफू ९० प्रतिशत राईहरूबाट निर्वाचित भएको भन्दै क्षेत्री भएको घमण्ड देखाएका थिए । विष्टले ‘यही बसेर मर न त’ भन्ने अपशब्द राईलाई अपमान गरेका थिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र राष्ट्रपति विद्यादेवी भण्डारीको जिल्लाका रुपमा परिचित भोजपुरमा उनीहरूकै पार्टी एमालेका नेता एवम् वडाध्यक्ष विष्टले वृद्धको अपमान गरेको घटनाले बबण्डर मच्चाएको थियो । घमण्डले बुर्कुसीमार्ने वडाध्यक्ष विष्टलाई स्थानीय जनताले सबक सिकाएका छन् ।

Published : Monday, 2021 June 7, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया