राति सुत्ने तरखर भइरहेका बेला ठाकुर–महतोका यी चार मन्त्री अपदस्थ, फुत्कियो पद

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी, नेपाल (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतोका चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

बर्खास्थ हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल रहेका छन् ।

ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई बखास्थ गरेको पत्र मुख्यमन्त्री राउतले आइतबार अबेर राति प्रदेश प्रमुख डा.राजेश झाको सचिवालयमा दर्ता गराएका छन् ।

प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन् ।

प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्ने गरि जिम्मेवारी तोकिएको छ ।

विजयकुमार यादवलाई पूर्ववत नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवलकिशोर साहलाई समाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि जनता समाजवादी पार्टीले आइतबार प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको थियो । राउत अध्यक्ष उपेन्द्र यादव समूहका हुन् ।

पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरेको थियो ।

बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको हो ।

प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद छन् । तालमेल गरी चुनाव लडेका यी दुईले समाजवादीका नेता राउतको नेतृत्वमा प्रदेश सरकार बनाएका थिए ।

गत वर्ष पार्टी मिलेर एक भएपछि एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको थिएन । ५५ सांसद मध्ये ३६ सांसद राउतको पक्षमा छन् ।

Published : Sunday, 2021 June 6, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया