कांग्रेसको गठबन्धन फुटाउन ओलीले फाले यस्तो जाल, माधव नेपालले के गर्लान् ?

काठमाडौं । दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि एक्लिएका एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अगाडि सारेका छन् ।

वरिष्ठ नेता माधव नेपालसहितका नेताहरू पार्टी विभाजन गरेर अगाडि बढ्ने तयारीमा रहेपछि डराएका ओलीले आइतबार राति विज्ञप्ति जारी गरेर एकताका लागि आह्वान गरेका हुन् । ओलीको प्रस्तावमा माधव नेपालसहित कारबाहीमा परेका नेताहरूको नाम विज्ञप्तिमा उल्लेख छैन । नेपालसहितका नेताहरूलाई कारबाही फिर्ता लिएको कुरा पनि ओलीले विज्ञप्तिमा राखेका छैनन् ।

ओलीले भनेका छन्, ‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ ।’

आफ्नै पार्टीका सांसदहरू संसद पुनर्स्थापनाको माग गरेर नेपाली कांग्रेससहित विज्ञप्ति गठबन्धनमा सामेल भएर सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि ओली तनावमा परेका हुन् । ओलीले विज्ञप्तिमा विपक्षी दलहरूको रिटका विषयमा गम्भीर रुपमा कुरा उठाएका छन् ।

ओलीले कांग्रेसको गठबन्धनमा रहेका माधव नेपाल समूहलाई फुटाउने अभियान अन्तर्गत यो विज्ञप्ति जारी गरेको विश्लेषण हुन थालेको छ । एक्लिएका ओली आफ्नै पार्टीभित्रका नेताहरूले साथ दिएका छैनन् ।

‘एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ’, ओलीले भनेका छन्, ‘ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनामा गतिशील हुनेछन् ।

‘मातहतका पार्टी कमिटी र जनसंगठनहरू मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुनेछन्’, ओलीले भनेका छन्, ‘संगठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्नेछ ।’

‘यसबीचमा विभिन्न कमरेडहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कार्बाही गरिनेछैन, पूर्वाग्रह राखिनेछैन र कुनै भेदभाव गरिनेछैन’, ओलीले विज्ञप्तिमा भनेका छन्, ‘एमालेलाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासीत र अझ सुदृढ बनाउने सबै कमरेडहरूले रचनात्मक योगदान गर्नुहुनेछ ।’

Published : Sunday, 2021 June 6, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया