त्यस्ता मन्त्री हुन मिल्ने गोकुल बास्कोटा किन नमिल्ने ‘बा’ ? गृहतिर अधिकारी-बस्नेतको ‘फाइट’

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारमा गृहमन्त्री बन्न एमालेका नेता महेश बस्नेत हातधोएर लागेका छन् ।

सांसद अपहरणको अभियोगदेखि विभिन्न विवादहरूमा पर्दै आएका बस्नेतले खड्गप्रसाद ओलीको सरकार बचाउन आफूले ठूलो योगदान गरेको दाबी गर्ने गरेका छन् । आफू निकटका नेता र शुभेच्छुकहरूसँग बस्नेतले ‘गृह मन्त्री म नै हो, अरुले चलाउन सक्दैनन्, म जत्तिको सक्षम एमालेभित्र अरु कोही पनि छैन’ भन्ने गरेको एक नेताले बताएका छन् ।

नेता बस्नेतले ‘बा’ अर्थात ओलीले राम्रो मन्त्रालय दिएर मन्त्री बनाउन लागेको बताउने गरेका छन् । ‘बाले मलाई मन्त्री बन्न आग्रह गर्नुभएको छ’, एमालेका नेता बस्नेतको भनाइ उदृत गर्दै एमालेका एक नेताले भने, ‘मैले अरु मन्त्री बन्दैन । पाएँ भने गृह मन्त्री मात्रै बन्छु भनेर ‘बा’लाई जवाफ दिएको छु ।’

एमालेका नेता बस्नेतले ओली सरकार बचाउन मधेश केन्द्रित दलहरू विभाजनदेखि सांसदहरूलाई डोलेश्वर रिसोर्टमा लगेर राखेका कारण गृह मन्त्रालयमा आफ्नो दाबी रहेको बताउने गरेका छन् ।

उता, गृह मन्त्री बन्नका लागि एमालेका नेता खगराज अधिकारी पनि अगाडि देखिएका छन् । अधिकारी बौद्धिक र राजनीतिक रुपमा राम्रा नेता मानिन्छन् । संसदमा ओली सरकारको बचाउमा सबैभन्दा पहिला विपक्षी दलहरूसँग प्रतिवादमा उत्रिने अधिकारी नै हुन् ।

ओलीलाई बस्नेतले गृह मन्त्री बनाउन दवाव दिएका छन् । ओली निकटका व्यापारी, प्रहरीका उच्च अधिकारी लगायत सबैमार्फत बस्नेतले दवाव सिर्जना गर्दै आएको स्रोतको भनाइ छ ।

नेता अधिकारी पनि गृह मन्त्री बन्ने चक्करमा छन् । उनले पनि ओलीलाई दवाव दिँदै आएका छन् ।

ओलीले कसलाई गृह मन्त्री बनाउने हुन् खुलेका छैनन् । ओलीले आफू निकटकै नेतालाई गृह मन्त्री बनाउनेछन् ।

नेपाल प्रहरीभित्र महेश बस्नेतलाई धेरैले रुचाउँदैनन् । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका कारण बस्नेतलाई प्रहरीभित्र नरुचाउने गरिएको हो । खनाल आईजीपी भएका बेला प्रहरी धेरै बद्नाम र प्रहरीका जवानदेखि उच्च अधिकृतहरूलाई अनावश्यक रुपमा दुःख दिएको आरोप छ ।

खनाललाई एमालेका नेता बस्नेतले काखी च्यापेका कारण प्रहरीभित्र बस्नेतको छवि राम्रो छैन ।

उता, मन्त्री बन्ने दौडमा पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा पनि छन् । बास्कोटालाई प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस बार्गेनिङ गरेको अभियोग छ । सोही कारण बास्कोटाले मन्त्री पद गुमाउनु परेको थियो ।

ओली आफैले कार्य सम्पादन गर्न नसकेको भनेर हटाएका रघुवीर महासेठलाई उप–प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीको जिम्मेवारी दिएका छन् ।

बंगलादेशमा एमबीबीएस अध्ययन गर्न गएका महिला विद्यार्थीलाई अपमान हुने गरेर अभिव्यक्ति दिएको आरोपमा कानून मन्त्री पदबाट राजीनामा दिएका शेरबहादुर तामाङलाई पनि ओलीले मन्त्री बनाएका छन् ।

तराई टुक्र्याउने अभिव्यक्ति दिएका कारण अपदस्थ भएका तत्कालीन रक्षा मन्त्री शरतसिंह भण्डारीलाई पनि ओलीले मन्त्री बनाएका छन् ।

विराटनगर जुट मिलको जग्गा र सामानहरू बिक्री गरेको आरोपमा कारबाहीमा परेका तत्कालीन उद्योगमन्त्री अनिलकुमार झा पनि मन्त्री बनेका छन् ।

यस्तो अवस्थामा ७० करोड कमिशनको आरोप पुष्टि नै नभएका गोकुल बास्कोटालाई ओलीले मन्त्री बनाएर गुन तिर्नुपर्ने चर्चा पनि छ ।

बास्कोटा प्रधानमन्त्री ओलीका निकै सहयोग र निकटका नेता पनि हुन् । बरु बास्कोटालाई गृह मन्त्री बनाउँदा ओली र उनको सरकारको बचाउ गर्न सजिलो हुने चर्चा एमालेभित्र छ ।

Published : Sunday, 2021 June 6, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया