सबै मधेशी भारतीय मूलका नेपाली हुन्ः सरिता गिरी

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएका कारण बेलाबेला चर्चामा आइरहने पूर्वमन्त्री सरिता गिरीले नेपालका सबै मधेशी नागरिकहरूलाई भारतीय मूलका नेपाली भनेर टिप्पणी गरेकी छिन् ।

शनिबार गिरीले आफ्नो फेसबुकमा स्टाटस लेखेर भनेकी छिन्, ‘सभी मधेशी भारतीय मूल के नेपाली नागरिक हैं ।’ उनको यो अभिव्यक्तिले मधेशी नगारिकहरूको अपमान भएको भनेर कमेन्टहरू आएका छन् ।

गिरीले के कारणले नेपालका सबै मधेशी नागरिकहरूलाई भारतीय मूलका नेपाली नागरिक भनेर अभिव्यक्ति दिएकी हुन् खुलाएकी छैनिन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको कामचलाउ कम्युनिस्ट सरकारमा महन्थ ठाकुर–राजेन्द्र महतो समूह सहभागी भएको अर्को दिन गिरीले विवादास्पद अभिव्यक्ति दिएर हलचल ल्याइदिएकी छिन् ।

भ्रष्टाचार काण्डमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले गिरीलाई श्रम मन्त्री पदबाट बर्खास्त गरिदिएका थिए ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको होइन भनेर संसदमै अभिव्यक्ति दिएर संविधान संशोधनको विपक्षमा बोलेपछि गिरीलाई उनको पार्टी संघीय समाजवादी पार्टी, नेपालले कारबाही गरेर सांसद पदबाटै हटाइदिएको थियो । गिरीले लिपुलेक नेपालका भारतको रहेको बताउँदै आएकी छिन् ।

उप–प्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको एजेण्डा कार्यान्वन गर्न सरकारमा सहभागी भएको भनेर अभिव्यक्ति दिएर विवादमा परेका छन् । त्यही बेला गिरीले पनि मधेशी नागरिकहरूका विषयमा विवादास्पद अभिव्यक्ति दिएकी छिन् ।

ओलीले विवादास्पद नागरिकता अध्यादेश जारी गरेका छन् । नागरिकता अध्यादेशबाट विदेशी नागरिकले नागरिक्ता लिने हुन् कि भन्ने आशंका जन्मिएको छ । यस्तो बेला गिरीले उत्पात हुने अभिव्यक्ति दिएर परिस्थितिलाई भड्काउन खोजेकी छिन् ।

पूर्वमन्त्री गिरीको माइत भारतमा पर्छ । उनी विवाह गरेर सिरहा जिल्लामा आएकी हुन् । उनले सिरहाबाट राजनीति गर्दै आएकी छिन् । उनी अहिले कुनै पनि दलमा छैनिन् ।

Published : Saturday, 2021 June 5, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया