को हो उप–प्रधानमन्त्री पद किन्ने ? कांग्रेस नेता यादवको खुलासाले बालुवाटारभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेन्द्र यादवले पैसाले किनेर उप–प्रधानमन्त्री बनेको भन्दै रघुवीर महासेठको आलोचना गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा कांग्रेस नेता यादवले महासेठले उप–प्रधानमन्त्री पद किनेको आरोप लगाए ।

धनुषा जिल्लाबाट तीन जना मन्त्री बनेको विषयमा सोधिएको जिज्ञसामा कांग्रेस नेता यादवले भने, ‘धनुषाबाट मन्त्री बनेको मलाई थाहा छ । कति जना ? तीन जना ? यो हैसियत विनाको मान्छेलाई केपी ओली सरकारले संविधान मिच्दै दिएका छन् । बुझ्ने बेलामा दियो धपक्क बल्छ नि ? त्यस्तै यो हो ।’

‘यो केपी ओली सरकारको आयु मुस्किलले १०–१५ दिन होला । र, १०–१५ दिनमा केपी ओलीले यस्ता जनाधार विहीन मान्छेहरूलाई, जो हैसियत नै नभएका मान्छेहरूलाई उप–प्रधानमन्त्री बनाइदिएर, मन्त्री बनाइदिएर, यसमा पनि मलाई लाग्छ उप–प्रधानमन्त्री बनाउनेमा पनि पैसाको चलखेल भएको छ’, नेता यादवले भनेका छन् ।

‘ठूलो चलखेल भएको छ । तपाईकै न्युज मिडियामा आइरहेको छ । आर्थिक लेनदेनको आधारमा उप–प्रधानमन्त्री महासेठलाई बनाएको छ । महासेठको जुन जेठान छ त्यसले पैसा खर्च गरेको छ । भ्रष्टाचार गर्नलाई’, उनले भने, ‘उप–प्रधानमन्त्री बनाएको छ । अर्को के कारण हुन सक्छ ?’

महासेठलाई संकेत गर्दै कांग्रेस नेता यादवले भने, ‘एमालेमा त्योभन्दा सिनियर सिनियर मान्छे छ । जसको योगदान छ । अनि त्यसलाई नबनाएर यसलाई बनाउनुको पछाडि के हुन सक्छ ? आर्थिक लेनदेन बाहेक के हुन सक्छ ?’

‘चुनावमा माओवादीको भोट अहिले पनि अलग राखिदिँदा रघुवीर महासेठसँग तीन हजारले मैले जितेको छु । माओवादी र एमाले मिल्दाखेरी पो जित्यो’, यादवले भने, ‘हाम्रो पार्टीभित्र अलिकता मिस अण्डरस्ट्याण्डिङ भएर महासेठले जित्यो । होइन भने कहाँ जित्छ ?’

धनुषमा कांग्रेस नेता यादव र एमालेका नेता महासेठबीच प्रतिस्पर्धा भएको थियो । कांग्रेस नेता यादवलाई कांग्रेसभित्रबाट अन्तर्घात भएको थियो । महासेठको भाग्य बलियो थियो । कथित वाम गठबन्धनको नाममा माओवादीको भोट पाएर महासेठ विजयी भएका थिए ।

‘त्यो क्षेत्रबाट पहिला पनि उसले (रघुवीर महासेठ) हारेको हो । अहिले पनि त्यो क्षेत्रका जनताले भन्दै छन् माओवादीको भोट उसलाई नगएको भए उसले कहाँ जितेको थियो ? उसको कहाँ जनाधार छ त ?’, प्रश्न गर्दै कांग्रेस नेता यादवले भने, ‘उ त पैसाको व्यापारी मान्छे छ । जग्गाको कारोबार गर्छ, प्लटबन्दी गर्छ । यस्ता–यस्ता व्यापारी कारोबारहरू गर्छ । अलिअलि पैसा खर्च गर्छ । तैपनि उसले कहाँ राम्रो भोट ल्यायो त ?’

‘अहिलेको सरकार नै माफियाको सरकार हो । जग्गा दलालहरूको सरकार हो’, कांग्रेस नेता यादवले भने, ‘विष्णु पौडेलको बुटवलमा जति मान्छे छ सबै जग्गा दलालीमै इन्भल्भ छ । विष्णु पौडेल आफै पनि छ । बालुवाटारको जग्गाको बारेमा विष्णु पौडेलको यत्रो ठूलो काण्ड छ । उसैलाई उप–प्रधानमन्त्री दिएको छ ।’

उनले भने, ‘यो देश कतातिर गइरहेको छ ? केपी ओलीले यो देशलाई कतातिर लगिरहेका छन् ? टोटल भ्रष्टाचारीहरूलाई मन्त्री बनाएर जग्गा दलाली आसेपासेलाई मन्त्री बनाए, राजेन्द्र महतो ठेकेदार होइन ? अनि यस्ता–यस्ता मान्छेहरूलाई मन्त्री बनाएर त्यसको विश्वसनीयता कहाँ लगिरहेको छ ? सुशासन दिने भनेको उसको (ओली) घोषणा कहाँ भयो ?’

‘अनि उ (केपी ओली) सबै मामिलामा फेलियर भइसक्यो । कम्युनिस्टलाई पनि बद्नाम गरिसक्यो । संविधानलाई पनि बद्नाम ग¥यो’, कांग्रेस नेता यादवले भने, ‘लोकतन्त्रलाई उसले बद्नाम गर्‍यो । जनतालाई उसको प्रवाह छैन ।’

‘तपाईले सुन्नुभएको होला कुनै बेला नानीमैया दाहालले पनि काठमाडौंबाट चुनाव जितेकी थिइन् । जनताले कुनै बेला नानीमैयालाई चुनाव जिताएको होइन ? अनि बद्री मण्डल उप–प्रधानमन्त्री बनेको होइन ? कहाँ गयो बद्री मण्डल ? यो सरकार जाने बेलामा कसलाई के दिऔँ, कहाँबाट के असुलौँ ?’, उनको प्रश्न छ ।

‘यस्ता प्रवृत्तिबाट यो मन्त्रिमण्डल बनेको छ । यो मन्त्रिमण्डलको कुनै बुद्धीजीवी वा राजनीतिक व्यक्ति वा व्यापारी आम जनतासँग राय लिनुस् त के भन्छन् ? यो सबै गन्हाएका मान्छेहरूलाई मन्त्रीमा राखेर हैसियत नभएको मान्छेलाई मन्त्रीमा राखेर, केपी ओली आफैलाई थाहा छ, दश दिनपछि म हुन्न भन्ने कुरा’, यादवले भनेका छन् ।

‘दश दिनपछि सर्वोच्च अदालतले संसद संसद पुनर्स्थापना गरिदिन्छ भन्ने उसलाई आफै थाहा छ’, कांग्रेस नेता यादवले भनेका छन् ।

उमाशंकर अरगरिया मन्त्री बनेको विषयमा कांग्रेस नेता यादवले भने, ‘व्यक्ति–व्यक्तिको बारेमा के भन्नु हुन्छ ? यिनीहरू हैसियत विनाको मान्छे हो । यो मान्छे जिल्ला समन्वय समितिको सदस्य हुन्थ्यो । तर, उपेन्द्र यादवजीले उहाँलाई टिकट दिनुभयो ।’

‘भ्रमको खेती गरेर मधेस आन्दोलन भयो, आखिर हेर्नुभयो, मधेस आन्दोलनमा हक अधिकारको लागि महन्थ ठाकुर लगायत पुराना राजपाहरू कहाँ गए ? केपी ओलीको शरणमा गएनन् ? ओलीको पाउमा गएनन् ?’, कांग्रेस नेता यादवले प्रश्न गर्दै भने ।

‘त्यही केपी ओलीलाई मधेस छिर्न दिन्न, त्यही केपी ओलीलाई राजविराज छिर्न दिन्न भनेर उसले पाँच जना मान्छेलाई हत्या गराएन ? सुरक्षा निकायले सजगता नअपनाएको भए त उनीहरूले केपी ओलीलाई मार्ने थियो नि त ?’, यादवले प्रश्न गर्दै भने, ‘प्रतिगमनकारी, मधेस विरोधी भनेर केपी ओलीलाई पछि मधेसमा फूलमालाले स्वागत गरेर केपी ओलीको सरकारमा जाने हो ?’

‘मधेसी जनताले बुझिसकेका छन् । महन्थ ठाकुर मधेसको धोकेबाज हो । मधेसीलाई ठग्यो । त्यो ठग हो । अब त आओस् न निर्वाचनमा राजपाको के हाल हुन्छ हेर्नु होला । उसले प्रधानमन्त्रीसहित जति नै ठूलो पद पाए पनि के हाल हुन्छ हेर्नु होला नि इलेक्सनमा ?’, कांग्रेस नेता यादवले भनेका छन् ।

‘केपी ओलीले राजेन्द्र महतोलाई समर्थन गरेका थिए । ओली र महतो प्रतिगमनकारी । अलिहे अएर पुष्टि भएको छ । हामीले त्यसै बेला भनेका थियौँ ओली–महतो मिलेका छन् भने । संघीयता खत्तम गर्ने र ओली–महन्थ र महतो मिलेका छन् । राजा ल्याउने काममा लागेका छन्’, कांग्रेस नेता यादवले भनेका छन् ।

कांग्रेस नेता यादवको यो खुलासा र आलोचनाले कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली र बालुवाटारका सल्लाहकारहरूलाई तनाब बढाइदिएको छ । रघुवीर महासेठ, महन्थ ठाकुर र राजेन्द्र महतोलाई पनि कांग्रेस नेता यादवले भण्डाफोर गरेर सडकमा पुर्‍याइदिएका छन् ।

Published : Saturday, 2021 June 5, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया