मधेसी नेताहरूलाई ओलीले यसरी थाङ्नामा सुताए, यादव विरोधी बने ठाकुर–महतो

काठमाडौं । कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले गृह, अर्थ, रक्षासहितका महत्वपूर्ण, राम्रा र आकर्षक मन्त्रालयहरू आफैसँग राखेर जनता समाजवादी पार्टी, नेपाल (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी बनाएका छन् ।

ओलीले शुक्रबार राति ८ बजे ठाकुर–महतो समूहलाई झिनामसिना मन्त्रालयहरू दिएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । ओलीले ठाकुर–महतो समूहलाई धेरै जनसम्पर्क हुने मन्त्रालय दिएका छैनन् ।

मधेस केन्द्रित दलका नेताहरू सत्ता र मन्त्री बन्नका लागि जे पनि गर्छन् भन्ने सन्देश यस पटक पनि दिएका छन् । राजेन्द्र महतो उप–प्रधानसहित शहरी विकास मन्त्री बनेका छन् । महतोलाई गृह मन्त्री बनाउने भनेर चर्चा चलेको थियो ।

ओलीले तीन जनालाई उप–प्रधानमन्त्री बनाएका छन् । ओलीले बालुवाटार जग्गा काण्डमा मुछिएका एमालेका नेता विष्णु पौडेललाई उप–प्रधान र अर्थ मन्त्रीको जिम्मेवारी दिएका छन् । एमालेकै अर्का नेता रघुवीर महासेठलाई पनि ओलीले उप–प्रधान एवम् परराष्ट्र मन्त्री बनाएका छन् ।

जसपा नेपालका राजेन्द्र महतोलाई ओलीले उप–प्रधान र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । मन्त्रिपरिषदको वरीयतामा ओलीलाई आफ्नो दलका दुई मन्त्रीलाई दोस्रो र तेस्रो स्थानमा राखेका छन् । जसपाका महतोलाई चौथो स्थानमा राखेका छन् ।

प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय आफैसँग राखेका छन् ।

एमालेबाट सामेल गरिएका शेरबहादुर तामाङलाई ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाएका छन् ।

एमालेकै नेता कृष्णगोपाल श्रेष्ठलाई शिक्षा, वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात र लीलानाथ श्रेष्ठलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

जसपा नेपालको ठाकुर–महतो समूहका नेता शरतसिंह भण्डारीलाई प्रधानमन्त्री ओलीले ऊर्जा तथा सिचाइँ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

ओलीले अनिल झालाई खानेपानी तथा सरसफाई मन्त्रालय, विमल श्रीवास्तवलाई श्रम तथा रोजगार मन्त्रालय, उमाशंकर अरगरियालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

ठाकुर–महतो समूहका नेता लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपाकै चन्द्रकान्त चौधरीलाई ऊर्जा मन्त्रालयमा र रेणुका गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

जसपा नेपालको ठाकुर–महतो समूहले यादव समूहलाई कुनै ठाउँ दिएको छैन । तराईको राजनीतिमा ठाकुर–महतोले बाहुनवाद अर्थात उच्च जातीको राजनीति गरेको आरोप लागेका बेला १० जना मन्त्री बन्दा पनि एक जना यादवलाई मन्त्री बनाइएको छैन ।

ठाकुर–महतो समूहले निर्वाचनमा यादव समुदायको पनि भोट पाएको थियो । यादव जातीका नेताहरू निर्वाचित पनि भएका छन् । तर, ठाकुर–महतो समूहले आफ्नो पार्टीलाई बाहुनवादी बनाएको भनेर आलोचना भएको छ ।

Published : Friday, 2021 June 4, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया