डीआईजी सिंहको टिमले यसरी गरेको थियो काम फत्ते, जम्बो टोली कारागार चलान

जलश्वर । घरमा सुतिरहेको अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवी झाका दोषीहरूलाई कारागार चलान गरिएको छ ।

झा दम्पत्तिलाई फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारेर हत्या गरिएको थियो । झा दम्पत्तिको हत्यामा संलग्न सात जनालाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

श्रेस्तेदार मदनप्रसाद जयसवालले झा दम्पत्तिका छोरा मनीष झाको जाहेरीका आधारमा वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, अपराधिक षड्यन्त्र, लागुऔषध र चोरी मुद्दाका प्रतिवादी सात जनालाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाएको जानकारी दिएका छन् ।

न्यायाधीश डा.रमेशप्रसाद रिजालको एकल इजलासले प्रतिवादी कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भनिने राजिन्द्र यादव र विकास भनिने बबलु झालाई थुनामा राखी मुद्दाको कारबाही अगाडि बढाउन आदेश दिएको छ ।

तारादेवी झालाई दुई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएको छ । तारादेवीले धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ ।

घटनामा संलग्न रञ्जीत मिश्र र तेजनारायण झाको हकमा पक्राउ पुर्जी म्याद जारी गर्न आदेश भएको छ । फागुन १० गते सुतेकै अवस्थामा घरबाट गायब झा दम्पत्तिको शव चैत १२ गते प्लाष्टिकको बोरामा राखेर गाडिएका अवस्थामा भेटिएको थियो ।

पिपरा गाउँपालिका–२ स्थित पिपरा–धिरापुर सडकखण्ड गत वर्ष बाढीले २० फिट गहिरो हुने गरी खाल्डो बनाएर माटो बगाएको थियो ।

खाल्डो पुर्ने क्रममा स्काइभेटरको बकेटमा कंकाल रहेको बोरा अड्किएको थियो । बोरामा हेर्दा झा दम्पत्तिको कंकाल भेटिएपछि अनुसन्धान गर्दा दोषीहरू पहिचान गरेर पक्राउ गरिएको थियो ।

घटनामा संलग्न नौ जनामध्ये जिल्ला प्रहरी कार्यालय महोत्तरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । घटनामा संलग्न अन्य दुई जनाको खोजी जारी रहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

जग्गाको विवादका कारण झा दम्पत्तिको अपहरण गरेर हत्या भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताएका छन् । सिंहले भने, ‘अपराध गरेर जतिनै बच्ने उपाय गरे पनि बच्न सक्दैन । प्रहरीले पक्राउ गरेर कारबाही गर्छ ।’

हत्याको घटनामा संलग्न भारतीय नागरिक हरेन्द्र जग्गा कारोबारी हुन् । ठाकुरको समूहले महोत्तरी, सहोडबामा १३ बिगाहा जग्गामा प्लटिङ गरेका थिए ।

प्लटिङको उत्तरतर्फ झाको १४ कट्ठा जग्गा थियो । त्यसभन्दा उत्तरतर्फ हरेन्द्रले २ बिगाहा जग्गा लिएका थिए । आफ्नो जग्गासम्म पुग्ने बाटो नभएपछि हरेन्द्रले झाको जग्गा किन्न खोजेका थिए । झाले जग्गा बेच्न मानेका थिएनन् ।

ठाकुरले झालाई प्लटिङ स्थलमा बोलाउने र बाटो नभएकै कारण घडेरी बन्ने जग्गा खेत हुने भन्दै जग्गा बेच्न दबाब दिँदै आएका थिए । घटनामा संलग्नताको आरोपमा पक्राउ परेका ५२ वर्षीय रामबाबु यादव पनि ठाकुरकै पार्टनर भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार झा दम्पत्तिले जग्गा बेच्न नमानेपछि आरोपीहरूले अपहरण गरेर हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

उनीहरूले सकेसम्म रगतका टाटा पनि पुछ्न खोजेका थिए । अनुसन्धानका क्रममा हरेन्द्रको मोबाइल लोकेशन त्यस क्षेत्रमा र जनकपुरमा देखिएको थियो । यसबीचमा ठाकुरले यादवलाई पटक–पटक सम्पर्क गरेको अनुसन्धानका क्रममा देखिएको थियो ।

प्रदेश नं. २ को प्रहरी प्रमुख भएर आएपछि डीआईजी सिंहले ठूलाठूला अपराधका घटनाको अनुसन्धानमा कुशल नेतृत्व दिएका छन् । रौतहटमा इट्टा भट्टमा भएको सामूहिक हत्या काण्डका दोषीहरूलाई पनि सिंहकै पहलमा पक्राउ गरिएको थियो ।

Published : Sunday, 2021 May 2, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया