तुलसीपुरमा कारभित्र सडेगलेका तीन वटा शव

घोराही । दाङ जिल्लाको तुलसीपुरमा पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको कारभित्र तीन वटा शव फेला परेका छन् ।

शनिबार तुलसीपुर उप–महानगरपालिका– ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कार माघ महिनादेखि पार्किङ गरी राखेको अवस्थामा थियो । घटना गम्भीर रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

मृतकको पहिचान हुन सकेको छैन । पार्किङ गरिएको कारभित्र कसरी उनीहरू पुगे भनेर अनुसन्धान शुरू भएको छ ।

शनिबार बेलुका एउटा बस पार्किङका लागि कारनजिकै जाँदा कारको बत्ती बलेको देखेपछि नजिक पुगेर हेर्दा शव देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

मृतक तीन जना बालकजस्ता देखिएका छन् । शव सडेगलेको देखिएको छ । शव पोष्टमार्टम भएपछि मात्रै शव कुन उमेरको हो खुल्ने प्रहरीले जनाएको छ ।

Published : Saturday, 2021 May 1, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया