नेपाल प्रहरीले भारतीय मोस्ट वान्टेड ‘दिल्लु’लाई गोली हानेर ढाल्यो

धनगढी । कैलालीमा प्रहरीले गोली हानेर भारतीय लागुऔषध तस्करलाई घाइते बनाएको छ ।

गोली लागेर घाइते भएका भारतीय नागरिक दिल्लु सिंह घाइते अवस्थामै भारततिर भागेका छन । उनका साथीहरू पनि भारततर्फ भागेका छन ।

सोमबार मध्यराति भजनी नगरपालिका मोरियाघाटकाे पिल्लर नम्बर ७०७–३ नजिकै नेपाल प्रहरी र भारतीय तस्करबीच गोली हानाहान भएको थियो ।

ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको कैलाली प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको जानकारी दिए ।

थापाले लागुऔषध तस्करहरू भाला र पेस्तोलसहित आएको बताए । तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भएको निरीक्षक थापाले बताएका छन् ।

भारतीय तस्कर ‘दिल्लु’ सिंहसहितका तीन जनाको समूहले प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाएको थियो । जवाफी कारबाहीमा प्रहरीले पनि तीन राउण्ड गोली हानेको जनाएको छ ।

घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका बब्लु सिंह घाइते भएका छन् । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेका थिए । घटनास्थलमा एक थान भाला र एक थान मोबाइल बरामद भएको छ ।

Published : Tuesday, 2021 April 6, 10:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया