क्याबिनमा महिलाको ब्लाउज खोलेर हात हाल्ने पक्राउ

राजविराज । सप्तरी जिल्लामा २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी डा.राजन जैसवाललाई पक्राउ गरेको छ ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालका डा.जैसवाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उपचारको बहानामा डा.जैसवालले महिलालाई कार्यकक्षमै यौन दुर्व्यवहार गरेको आरोप छ ।

अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन गएका बेला डा.जैसवालले अस्पतालकै क्याबिनमा महिलालाई यौनजन्य दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख (एसपी) राजेन्द्रप्रसाद धमलाले बताएका छन् ।

डा.जैसवाललाई अस्पतालले पनि निलम्बन गरेर कारबाही गरेको छ । अस्पताल प्रशासक राजेश झाले विज्ञप्तिमार्फत डा.जैसवाललाई कारबाही गरिएको बताएका छन् ।

डा.जैसवालले डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि भन्दै महिलालाई शिशुसहित क्याबिनमा भेट्न बोलाएका थिए ।

डा.जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अंग छुनुका साथै अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लील क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको प्रहरीलाई बयान दिएकी छिन ।

डिस्चार्ज भइसकेको अवस्थामा पुनः केही औषधि लेखेर डा.जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर क्याबिनभित्र अश्लील क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताएकी छिन् ।

डा.जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताएका छन् ।

पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताए ।

Published : Saturday, 2021 March 27, 8:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया