काठमाडौंबाट ‘धन्दावाली’हरू पक्राउ, अश्लील भिडियोले हँगामा

काठमाडौं । काठमाडौंको सुन्धारामा अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने दुई जना महिलालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३७ वर्षीया लालसरी शाही ‘ललिता’ र ३७ वर्षीया कल्पना हमाल रहेका छन् ।

लालसरा शाहीले काठमाडौंको कोटेश्वर बस्ने ५२ वर्षीय एक पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई भिडियो बनाएकी थिइन् । लालसराले कोठामा संगै बसी आफ्नी साथी कल्पना हमालमार्फत भिडियो बनाएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लालसरा शाहीले कल्पना हमाललाई पुरुषसँग बसेको भिडियो गोप्यरूपमा रेकर्ड गर्न लगाएको अनुसन्धानबाट खुलेको छ ।

सोही भिडियो म्यासेञ्जरमार्फत पीडित पुरुषलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक–पटक आईएमईमार्फत लाखौं रकम लिने कार्यमा संलग्न रहेको उजुरी परेपछि महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले दुई महिलालाई पक्राउ गरेको थियो ।

शाही र हमाललाई प्रहरीले चैत ४ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । ३७ वर्षीय लालसरी शाही ‘ललिता’को स्थायी ठेगाना सुर्खेत जिल्लाको वीरेन्द्रनगर– १० रहेको छ । शाही काठमाडौंको घट्टेकुलोमा बस्दै आएकी थिइन् ।

पक्राउ परेकी अर्की महिला ३७ वर्षीय कल्पना हमालको पनि स्थायी ठेगाना सुर्खेतको वीरेन्द्रनगर– १० रहेको छ । हमाल काठमाडौंको कपनमा बस्दै आएकी थिइन् ।

लालसरी शाही ‘ललिता’को काण्ड

लालसरी शाही ‘ललिता’ले राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत, बाँकेको फैसलाले २०७४–८–२२ गते रू.१ लाख धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।

लालसरी शाही र कल्पना हमालले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई शर्माका विरुद्ध २०७७–६–६ जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकोमा उक्त जाहेरी झुठ्ठा ठहरिएकोले लालसरी शाही उपर सुर्खेत जिल्ला अदालतबाट ३ वर्ष ६ महिना जेल सजायको फैसला भएको थियो ।

लालसरी शाहीले संस्थागत कामको सिलसिलामा विगत १ वर्षदेखि चिनजानमा रहेको काठमाडौंको कोटेश्वर बस्ने ५२ वर्षको एक पुरूष ब्यक्तिलाई आफू सुन्धारास्थित होटलमा बसेको समयमा सबै पैसा हराएको कारणले समस्यामा परेको हुँदा सहयोग गरिदिनको लागि अनुरोध गरे पश्चातः सो अनुरोध बमोजिम के भएको रहेछ भनि भेट्न जाँदा होटलको कोठामा नै बोलाई कोठामा जानासाथ निज महिलाले उक्त पुरूषको नजिक गई हात समाउने लगायतको काम गरेको समयमा निज महिलाको साथीले भिडियो खिचेको, त्यसपछि भनेजति पैसा नदिए घरपरिवार साथै प्रहरीमा समेत उजुरी गरी फसाई दिने भन्दै रकम माग गर्न थालेको र पटक–पटक गरी रू.३ लाख २ हजार ५ सय लगि सकेको अनुसन्धानबाट खुलेको छ ।

शाही र हमालले थप ८ लाख माग गरेकोले आफू ब्ल्याकमेलिङमा परेको थाहाँ पाए पश्चातः ती व्यक्तिले प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ परेका महिलाको समूहले यस्तै प्रकारको कार्यविधि अपनाई ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छोडे पश्चातः भिडियो भाईरल गराई बदनाम गराउने तथा जबरजस्ती करणीको मुद्दा लगाउनेसम्मको डर त्रास देखाई पुनःरकम असुल गरेको खुलेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2021 March 18, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया