लहानमा बम पड्काउने मान्छे पक्राउ

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले बलराम मण्डललाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने मण्डल लहान नगरपालिका–१८ का हुन् । मण्डललाई सोमबार सुखीपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सिरहाका एसपी सुदीपराज भण्डारीले जानकारी दिएका छन् ।

पक्राउ परेका मण्डलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

आइतबार लहान नगरपालिका–८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयका कर्मचारी बस्ने कोठा नजिकै कुकर बम विस्फोट गराइएको थियो ।

विस्फोटमा परी ७ जना घाइते भएका छन् । घटनामा गम्भीर घाइते भएका सिरहा धनगढीमाइ नगरपालिका–४ का ३० वर्षीय दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

घटनामा घाइते भएका विष्णुपुर गाउँपालिका–३ का मालपोत कार्यालयका नायव सुब्बा ३८ वर्षीय शिवकुमार यादवलाई नोबेलमा रिफर गरिएको छ । अन्य ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Published : Monday, 2021 March 15, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया