डीएसपी बोहराद्वारा काठमाडौंको शक्तिशाली ठाउँमा छापा, सिएमजीमा भागाभाग

काठमाडौं । प्रहरीले काठमाडौंको प्लाटिनम होटलको सिएमजी क्यासिनोमा छापा हानेर दश जनालाई पक्राउ गरेको छ ।

क्यासिनोमा अवैध रुपमा नेपालीहरूलाई प्रवेश गराएको भन्दै प्रहरीले बिहीबार म्यानेजरसहित १० जनालाई पक्राउ गरेको जनाएको छ । क्यासिनोमा अबैध रुपमा नेपालीहरूलाई जुवा खेलाएको आरोप छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौं–१३ ताहाचलस्थित सिएमजी क्यासिनोमा छापा हानेको हो । प्रहरीले छापामारेपछि क्यासिनोभित्र भागाभाग भएको थियो । प्रहरीबाट बच्न क्यासिनो मालिकले उच्च तहमा फोन समेत घमाएको चर्चा छ ।

पक्राउ पर्नेमा क्यासिनो म्यानेजर काठमाडौं–२२ का महेश मल्ल, सहायक म्यानेजर सर्लाही ईश्वरपुर नगरपालिका–९ का कमलदेव चौधरी, एडमिन स्टाफ सर्लाही बरथनवा–४ का अजय यादव र सोही नगरपालिका–११ का क्यासियर सचिन वाग्ले छन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक अपील बोहराले क्यासिनोमा खेल्ने र खेलाउनेहरूलाई पक्राउ गरिएको जनाएका छन् ।

पक्राउ पर्नेमा भारत मोतीहारीका रञ्जितकुमार जैसवाल, सोहन प्रसाद, भारत बिहार बेतियाका मुमताज मियाँ, भारत कलकत्ता मेडनापुरका शेख मुर्तुजा, धनषा जनकपुर–१३ का राजकुमार सिंह र बारा बारागढी–६ का टिन्कु प्रसाद रहेका छन् ।

उनीहरूको साथबाट २२ लाख ९६ हजार ९८० रूपियाँ बरामद भएको डीएसपी बोहराले बताए ।

कोरोना महामारीका कारण अहिले क्यासिनो बन्द गरिएको छ । बन्दको पर्वाह नगरीकन खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरी क्यासिनो पुगेको थियो ।

Published : Thursday, 2021 March 4, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया