कम्युनिस्टको हर्कतले जनता दिक्क, तेलको मूल्य बढ्यो

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २–२ रुपियाँ बढाएको विज्ञप्तिमा उल्लेख छ ।

कम्युनिस्ट सरकारले आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपियाँ बढाएको छ ।

अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रतिकिलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १६ रुपियाँ र डिजेल तथा मट्टितेलको ९९ रुपियाँ पुगेको छ ।

आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपियाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर कायम भएको छ । ग्यासको मूल्य भने १ हजार ४ सय रुपियाँमा यथावत राखिएको छ ।

तीन वर्ष अगाडि तत्कालीन एमाले र माओवादीलाई जनताले झण्डै दुईतिहाइ बहुमत दिएका थिए ।

कम्युनिस्ट सरकारबाट जनताले ठूलो अपेक्षा राखेका थिए । कम्युनिस्टहरूले जनतालाई राहत दिनेभन्दा पनि मूल्यवृद्धि गरेर हैरान बनाएको आरोप छ ।

Published : Monday, 2021 March 1, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया