हुण्डीको अड्डामा काठमाडौंमा छापा, नेपाली र भारतीय पैसा बरामद

काठमाडौं । काठमडौंमा स्रोत नखुलेको करीव १८ लाख नगदसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानरगपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपियाँसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कुलेश्चर बस्ने नुवाकोट बिदुर नगरपालिका–१३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौं तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका– ६ घर भएका २७ वर्षीय सुमन थापा र काठमाडौं कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्यनारायण प्रसाद रहेका छन् ।

उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त स्रोत नखुलेको रुपियाँसहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

उता, प्रहरीले सिरहा जिल्लाको सिरहा बजारबाट भारतीय नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–१६ स्थितबाट अवैध रुपमा ल्याएको २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी जम्मा २ लाख ५० हजार भारतीय रुपियाँसहित भारत सहरसा ग्राम किसनपुर पञ्चायत–२ बस्ने ६० वर्षीय चतुरी यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई राखेको उक्त भारतीय रुपियाँ फेला पारी उनीलाई पक्राउ गरेको हो ।

यादवलाई बरामद भारतीय रुपियाँसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Published : Monday, 2021 March 1, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया