प्रधानमन्त्री ओलीकै पार्टीकी महिला नेतृ रङ्गेहात पक्राउ

तुलसीपुर । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङकी जिल्ला सदस्य तुलसा पोखरेल लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेकी छिन् ।

नेतृ पोखरेल आइतवार दाङको तुलसीपुर उप–महानगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकी तुलसा पोखरेल न्यायाधीश मदन पोखरेलकी पूर्वकान्छी पत्नी हुन् । तुलसा र मदनको २०७३ सालमा सम्बन्ध विच्छेद भइसकेको छ ।

उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलले तुलसा पोखरेलसँग आफ्नो नाम जोडिएर आएका समाचारप्रति असन्तुष्टि जनाएका छन् ।

तुलसा पोखरेल तुलसीपुर उप–महानगरपालिकाको रतननाथ टोलबाट २ ग्राम २६ मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित आइतवार पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङ्ग र ईलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त टोलीले तुलसालाई उनकै घरबाट पक्राउ गरेको छ ।

प्रतिवन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेकी तुलसा पोखरेलबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलक शर्माले बताएका छन् ।

घर अगाडि पार्किङ गरी राखेको तुलसाको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजालले बताए ।

पक्राउ परेकी तुलसाले प्रहरी समक्ष लागूऔषध आफूले नराखेको प्रारम्भीक बयान दिएको प्रहरील जनाएको छ । प्रहरीले घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ ।

सत्तारुढ नेकपाको दाङकी नेतृ समेत रहेकी तुलसालाई बचाउन नेकपा दाङका नेताहरू सक्रिय भएर लागेको आरोप छ ।

तुलसालाई बचाउन उच्च पदमा रहेका ओली समूहको नेकपाका नेताहरूले प्रहरीलाई दवाव दिएको प्रहरी स्रोतले जनाएको छ ।

Published : Sunday, 2021 February 28, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया