भागरथी प्रकरणलाई प्रहरीले निर्मला काण्ड हुन दिएन, अभियुक्त पक्राउ

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले एकजना पक्राउ गरेको छ ।

पक्राउ परेका किशोरले प्रहरी समक्ष भागरथी को घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

पक्राउ परेका अभियुक्त भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका छन् ।

‘घरायसी भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी थियो’, पक्राउ परेका अभियुक्तको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘रिसिबीका कारण मैले भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ ।’

ती किशोरले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गरेका छन् । उनले उचित मौकाको पर्खाइमा बसेको समेत बताएका छन् ।

भागरथीका छिमेकी समेत रहेका ती अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

मंगलबार राति नै उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला पुगाइएको प्रहरीले जनाएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अभियुक्तलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

माघ २२ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको शव भोलीपल्ट हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो । घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी आफै घटनाको अनुुसन्धानमा खटिएका थिए । ठूलो दवावमा परेको प्रहरीले भागरथी प्रकरणमा आफूलाई सफल बनाएको छ ।

यसअघि, कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा दोषी पक्राउ पर्न सकेको थिएन ।

Published : Wednesday, 2021 February 17, 9:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया