झापाका पंकजको पाप धुरीबाट करायो

काठमाडौं । महानगरीय अपराध महाशाखाले ३० वर्षीय पंकज पौडेलीलाई लाखौँ रकम ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी दीपक थापाले पौडेलीले विभिन्न व्यक्तिहरूलाई २६ लाखभन्दा धेरै रकम ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको जानकारी दिएका छन् । पौडेलीले सामाजिक सञ्जालमार्फत रकम ठगी गर्दै आएको खुलेको छ ।

अनुसन्धानका क्रममा पौडेलीले विभिन्न व्यक्तिहरूबाट प्राप्त गरेको एक करोड ९५ लाख १२ हजार ३ सय ५२ रुपियाँको रेकर्ड फेला पारेको छ ।

पौडेलीले फेसबुक, ह्वाट्स एप, ईमो, इमेलबाट सम्पर्क गरेर सिंगापुर, लण्डन, कोरियाको नागरिक भएको भन्दै ठगी गरेका थिए । उनले नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल पठाउने भनेर पैसा मागेर ठगी गरेको प्रहरीले जनाएको छ ।

महाशाखाको टोलीले पौडेलीलाई माघको २५ गते झापाको दमकबाट पक्राउ गरेको जनाएको छ । पौडेलीको साथबाट प्रहरीले १३ लाख ९५ हजार २ सय १५ रुपियाँ बरामद गरेको छ ।

उनले २६ लाख ८० हजार २ सय ७१ रुपियाँ पठाउन लगाएर ठगी गरेको उजुरी परेपछि महाशाखाले अनुसन्धान शुरु गरेको थियो ।

Published : Tuesday, 2021 February 9, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया