अञ्जुको ‘पुरानो घाउ’ले २४ घण्टाभित्रै ट्रेण्डिङमा ठाउँ बनायो (भिडियो)

काठमाडौं । अञ्जु पन्तको स्वर र सन्तोष श्रेष्ठको संगीत रहेको गजल ‘पुरानो घाउ’ युट्युबको ट्रेण्डिङमा उक्लिएको छ ।

ईनाक्षी ईन्टरटेनमेन्टको युट्युब च्यानलमा बिहीबार रिलिज भएको ‘पुरानो घाउ’ले २४ घण्टाभित्रै ट्रेण्डिङमा ठाउँ बनाउन सफल भएको हो । शुक्रबार ५ बजेभित्र ‘पुनारो घाउ’ले ४९औँ नम्बरमा ठाउँ बनाएको छ । म्युजिक भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।

लामो समयपछि गजलले ट्रेण्डिङमा ठाउँ बनाउन पाएको श्रेष्ठले बताए । ‘गजलहरू ट्रेण्डिङमा परेको बिरलै छन्’, उनले भने, ‘पुरानो घाउ निकै उत्कृष्ट बनेको रहेछ भन्ने बल्ल हामीलाई लागेको छ ।’

‘पुनारो घाउ’ले ट्रेण्डिङमा ठाउँ बनाएपछि संगीतकार श्रेष्ठले स्रोता दर्शक र सञ्चारमाध्यमसहित सबै टिमलाई धन्यावाद दिएका छन् । निर्देशक पाण्डेले पनि टिमको कुशल प्रयास र दर्शक स्रोताहरूको मायाले ट्रेण्डिङमा पर्न सफल भएको बताए ।

‘लोक दोहोरी, कमेडी भिडियो, भाइरल कुराहरूले ट्रेण्डिङलाई कब्जा गरेका बेला गजलले ठाउँ पाएको छ’, संगीतकार श्रेष्ठले भने, ‘राम्रो सिर्जना बनाउँदा दर्शक स्रोताको माया पाइँदो रहेछ । हामी खुसी छौँ ।’

निर्देशक पाण्डेले पनि ‘पुरानो घाउ’को टिम निकै खुसी भएको बताए । ‘दर्शक, स्रोता, ईनाक्षी ईन्टरटेनमेन्ट, सञ्चारमाध्यम सबैप्रति आभारी छौँ’, पाण्डेले भने, ‘मोडलद्वय आकाश श्रेष्ठ र पूजा शर्माका साथै क्यामराम्यान, प्रोडक्सन म्यानेजर, सम्पादकलगायत सबैलाई धन्यावाद छ ।’

पाण्डेले पनि गजलले पाएको मायाले टिममा उत्साह थपिएको बताए । उनले म्युजिक भिडियो छायाँकनमा गरिएको मेहनतको फल पाएको बताए ।

गजलका शब्द चन्द्र प्रसाइँ ‘परिष्कृत’ले लेखेका हुन् । प्रसाइँले लेखेको ‘पुरानो घाउ’का शब्द निकै भावनात्मक छन् । गीतको एरेञ्जर विष्णु अधिकारी हुन् । रेकर्डिङ र मिक्सिङ विश्व अधिकारीले गरेका छन् ।

म्युजिक भिडियोको प्रोडक्शन म्यानेजर दीपेन गौतम रहेका छन् । छायाँकन उत्सव दाहाल र सम्पादन विकास दाहालले गरेका हुन् ।

Published : Friday, 2021 February 5, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया