गायिका पन्तले दोस्रो बिहे गर्ने

काठमाडौं । गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकी छिन् । उनले थीर कोइरालासँग विवाह गर्ने भएकी हुन् । पन्तले दुवैतिरका घर परिवारको सल्लाहमा विवाह गर्न लागेको बताएकी छिन् ।

पन्तले मनोज राजसँग डिभोर्स गरेर छोरीसँग एक्लै बस्दै आएकी थिइन् । छोरीले दोस्रो विवाह गर्न दवाव दिने गरेको पन्तले सार्वजनिक कार्यक्रममा समेत बताउँदै आएकी थिइन् । मनोज राजले पनि दोस्रो विवाह गरेर घरजमका साथ बसेका छन् ।

उनले आफ्नो बिहेपछि नयाँ अध्याय शुरु हुने बताएकी छिन् । कोइरालाको घर इलाममा पर्छ । कोइरालाले विवाह सहमतिमा हुन लागेको बताए । उनले विवाहको मिति तय हुन बाँकी रहेको बताएका छन् । दुवै जनाको अनुकुल समय मिलाएर मिति तोक्ने कोइरालाले बताएका छन् ।

६ वर्षअघि कोइराला र अञ्जु पन्तको पहिलो भेट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो । कोइरालाले नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे । उनीहरूका बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो । लामो समयको प्रेम सम्बन्धपछि उनीहरू केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन् ।

काठमाडौंअघि इटहरी बस्दै आएका कोइराला ‘इटहरी साप्ताहिक’का पूर्वसम्पादक हुन् । पत्रपत्रिकामा लेखसमेत लेख्दै आएका उनी हाल उनी गैरसरकारी संस्थामा सञ्चालन गर्छन् ।

Published : Thursday, 2021 February 4, 11:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया