कम्युनिस्ट वडाध्यक्ष बोहरा ‘सेक्स काण्ड’मा परे

मन्थली । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय वडाध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहेका भरतबहादुर बोहरा ‘अर्जुन’ बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

बोहरालाई जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले शनिबार पक्राउ गरेको हो । बोहरा मन्थलीको चनखुबाट पक्राउ परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज ढुंगानाले जानकारी दिएका छन् ।

वडाध्यक्ष बोहराले ३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ । ती महिलाले सोमबार महानगरीय प्रहरी वृत्त, ठिमी, भक्तपुरमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष बोहरालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । ठिमी प्रहरीले फरार रहेका वडाध्यक्ष बोहरालाई पक्राउ गरिदिन रामेछाप प्रहरी कार्यालयलाई पत्र पठाएको डीएसपी ढुङ्गानाले बताएका छन् ।

बोहरालाई शनिबार पक्राउ गरी रामेछापबाट भक्तपुर ल्याइएको छ । ठिमी प्रहरी वृत्तका डीएसपी ऋषिराम कँडेलका अनुसार वडाध्यक्ष बोहराले माघ दुई गते राति महिलामाथि बलात्कार गरेको जाहेरी आएको जानकारी दिएका छन् ।

बलात्कार भएको भनिएकी महिला मध्यपुर ठिमी नगरपालिका– ३ मा डेरा गरी बस्दै आएकी छिन् । वडाध्यक्ष बोहरामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

मन्थली नगरपालिका वडा नं. १० कि वडा सचिव पम्फा भुसालले पनि वडाध्यक्ष बोहरा पक्राउ परेको आफूले पनि सुनेको जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो वडाध्यक्ष बोहरा पक्राउ परेको मैले पनि समाचार हेरेर थाहा पाएको छु । अरु विषय थाहा भएन ।’

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहेका वडाध्यक्ष बोहरा तत्कालीन माओवादीबाट निर्वाचित भएका थिए ।

Published : Sunday, 2021 January 24, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया